सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको तयारी : होला त बैंकहरुको पुँजी वृद्धि ?

बिहीबार, १७ असार २०७८, १४ : ५३
बिहीबार, १७ असार २०७८

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । तर, मौद्रिक नीतिको तयारी हुँदै गर्दा अहिले चर्चा पाएको विषय हो, बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि ।

कोरोना माहामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित बन्दा नेपालका बैंक तथा वित्तीय संस्था पनि अछुतो छैनन् । तुलनात्मक रुपले कम प्रभाव भएपनि सामान्य अवस्थाको भन्दा बढी प्रभावित देखिएका छन् ।

यस्तो अवस्थामा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिको दबाव देलान् त भन्ने रातोपाटीको जिज्ञासामा राष्ट्र बैंकका मौद्रिक नीति लेखनको तयारीमै संलग्न मध्य एक अधिकारीले यो अड्कलबाजी बाहेक केही नभएको बताए ।

ती अधिकारीले भने, ‘अहिलेको यस्तो अवस्थामा पुँजी वृद्धि कति ठिक हो, त्यो उहाँहरुले नै सोच्नुपर्ने विषय हो । अहिलेसम्म यो विषयमा छलफल भएको छैन । मौद्रिक नीतिमा यो विषयले प्रवेश पाउने सम्भावना ज्यादै न्युन छ ।’

ती अधिकारीका अनुसार पुँजी वृद्धिको विषयमा राष्ट्र बैंकले अहिले छलफल गरेको छैन । पछिल्लो केही वर्षयता मौद्रिक नीति  तयार हुने समयमा पुँजी वृद्धिको विषय जोडतोडका साथ उठ्ने गरेको छ । राष्ट्र बैंकले अहिलेसम्म लिएको मर्जर तथा एक्वीजीसन नीतिले विकास बैंक र फाइनान्स कम्पनीको संख्या निकै घटाएको छ ।

तर, वाणिज्य बैंकहरुको संख्या भने खासै घटेन । कतिपय विश्लेषकहरुले वाणिज्य बैंकहरुको संख्या नघटेको कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको टिप्पणी गर्दै आएका छन् । बाणिज्य बैंकको संख्या घटाउन विग मर्जरमा प्रोत्साहन हुनुपर्ने आवाज पनि सुनिँदै आएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ वैशाख मसान्तसम्म कुल २ सय २० बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय ६६ संस्थाहरुको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएका छन् ।

के भन्छन् बैंकर ?

पुँजी वृद्धिको विषय जोडतोडका साथ उठेपछि केही बैंकहरुले भने यो अहिलेको आवश्यकता नभएको बताएका छन् । विकास बैंकर्स संघका अध्यक्ष प्रध्यूमन पोखरेलले विकास बैंकहरुको संख्या निकै न्यून भएकाले अव यसमा मर्जर होइन केन्द्रिय बैंकले  भएका बैंकहरुलाई बचाउने  बेला आएको बताए । विकास बैंकले वित्तीय पहुँच बढाएकाले यी बैंकको संरक्षण जरुरी रहेको उनको भनाइ छ ।

यता नेपाल वित्तिय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधार भएका बैंक तथा वित्तीय संस्था मर्जर गरेर घटाउने र फेरि नयाँ लाइसेन्स दिएर खोल्नुपर्ने अवस्था आउनसक्ने तर्फ ध्यान दिनुपर्ने बताउँछन् ।

अहिले बैंकहरुलाई हकप्रद सेयर जारी गर्न रोकिएको छ । तर, बैंकहरुको चुक्ता पुँजी बढाउने नीतिगत व्यवस्था भयो भने हकप्रद सेयर जारी खुला हुने आंकलन ती लगानीकर्ताहरुको छ ।  यही विषयलाई लिएर सेयर बजार बढाउने खेलतिर लगानीकर्ताहरु देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप