सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हरियो जुनार बिक्री गर्ने क्रम रोकिएन, यस्तो छ कारण

सोमबार, ०६ कात्तिक २०७४, १५ : ५२
सोमबार, ०६ कात्तिक २०७४

सिन्धुली–सिन्धुलीको जुनार तुलनात्मक रुपमा अन्य ठाँउको भन्दा स्तरीय हुने बताइन्छ  । कृषक शारदा भुजेल आफ्नो बारीमा भएको हरियो जुनार असोज देखिनै बेच्न सुरु गर्छिन् ।
 

किरा लाग्ने र कुहिले डर हुने हुँदा जुनार हरियोमा नै बेच्ने गरेको उनको भनाई छ ।  शारदामात्रै होइन यहाँका अधिकांश किसानले  हरियो अवस्थामै जुनार बेच्ने गरेका छन् । 
 

जुनार खानको लागि उपयूक्त भएपछि बेच्ने हो भने बोटमानै प्रतिगोटा १० देखि १२ रुपैयमा बिक्छ । तर, हरियोमै बेच्दा कृषकले कम आम्दानी गरिरहेका हुन् । परिवारमा आर्थिक जोहो गर्ने मुख्य आधारनै जुनार खेती हुँदा र किरा लाग्ने समेत  भय हुँदा हरियोमानै कृषकहरु जुनार टिप्न बाध्य भएको बताइन्छ । 

जुनारको दाना लाग्न सुरु भएदेखिनै व्यापारीहरुले पनि बोटनै किनिदिन्छन् । व्यापारीले किन्दा  प्रतिगोटा ३ देखि ५ रुपयाँ तिर्छन्  । जवकी त्यही जुनार मौसमको समयमा उनीहरुले १० देखि १२ सम्ममा बेच्ने  गरेका छन् । यस्तो हुदा कृषकलाई भन्दा पनि व्यापारीलाई बढी फाईदा हुने गरेको छ । 

केही वर्ष पहिला बालीसंरक्षण निर्देशनालयको पहलमा जुनार चीन पठाउने कुरा भएको थियो । तर बगँैचा दर्ता गर्ने तथा  जुनारमा लाग्ने रोग किरारहित बनाउन नसक्दा अहिले सम्म पनि यो काम अगाडि बढ्न नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

सिन्धुलीको तिनकन्या,जलकन्या, बाशेश्वार,र तनचुरा लगायतको स्थानमा  १० देखि १२ सय हेक्टर जमिनमा जुनारखेती हुदै आइरहेको छ । 

कृषि विकास कार्यालयको अनुसार यो वर्ष जुनार खेतीको लागि  ७४ हेक्टर जमिन थप गरिएको छ । कृषि विकास कार्यालयका सहायक प्रमुख रामजी शाहले हरियो जुनार बिक्री नगर्नको लागि पटकपटक कृषकलाई आग्रह गरे पनि रोक्न नसकेको बताए ।

 कृषकको घरपरिवार धान्ने मुख्य स्रोतनै जुनार खेती भएपछि आर्थिक समस्या हुँदा जुनार बेचेर टार्ने गरेका छन् । 

‘हरियो जुनार बेच्नु हुन्न भन्ने बारे कृषकलाई पनि थाहा छ तर उत्पादनको समयमा प्रत्येक वर्ष हरियो जुनारनै बिक्री भईरहेको छ ’, उनी भन्छन् । 

तथ्यांक अनुसार सिन्धुली जिल्लामा प्रत्येक वर्ष १० देखि १२ सय मेट्रीक टन जुनार उत्पादन हुदै आईरहेको छ । तर, जुनारको संरक्षणको लागि सरकारले अझै सम्म पनि खुलेर लगानी लगाउन सकेको छैन । 

सिन्धुलीको जुनारको बिकासको लागि वार्षिक रुपमा ५ लाख मात्रै बजेट विनियोजन हुदै आईरहेको छ । कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ५ लाखमा २१ हजार गोटा बिरुवा र जुनारको बोटलाई रोग लाग्न बाट बचाउन र रोग लाग्दा छर्कने चुना वितरण गरेको भरमानै सकिन्छ ।  

यता जुनार विकास संघ सिन्धुलीका अध्यक्ष तिलब बहादुर थापाले भने हरियो जुनार बिक्रीमा केही कम भएको बताए । 

हरियो जुनार बिक्री गर्दा सिन्धुलीको जुनारको अस्तीत्व सकिने भएको हुँदा बारम्बार कृषक र सहकारी संस्थाहरुलाई पत्र र स्थानिय मिडिया मार्फत हरियो जुनार बिक्री नगर्न आग्रह गर्दै आएको उनले बताए । सिन्धुलीमा अहिले ११ सय ८६ जना जुनार व्यवसायीहरु रहेका छन् ।

सिन्धुलीमा जुनारबाट प्रत्येक वर्ष २६ करोड बराबरको आम्दानी हुदै आइरहेको सरकारी तथ्यांक छ । सिन्धुलीको जुनार काठमाडौ, चितवन, नारायणगढ, पोखरा, विराटनगर, हेटौडा लगायत नेपालको मुख्य सहरहरुमा पुग्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप