आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित

शुक्रबार, १८ असार २०७८, १९ : ४८
शुक्रबार, १८ असार २०७८

बागमती प्रदेशसभाको बैठक भोलि (असार १९) गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । आज एकैदिन प्रदेशसभाको ३ वटा बैठक सम्पन्न भएका छन् । प्रदेशसभाको आज विहान १२ बजेदेखि बसेको बैठकमा प्रदेश मामिलाका सम्बन्धमा विषेश समयमा दलगत रुपमा प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने दोस्रो बैठकमा प्रदेश सरकारले असार १ गते संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथि छलफल गरिएको थियो । 

प्रदेशसभाको पहिलो बैठकको विषेश समयमा १४ जना सांसदहरुले दलीय आधारमा प्रदेश मामिलाका बारेमा आफ्नो धारणा राखेका थिए । त्यस्तै प्रदेशसभाको दोस्रो बैठकमा बागमती प्रदेशसभाका २७ जना सांसदहरुले दलगत रुपमा बजेट माथिको छलफलमा भाग लिएका थिए । 

छलफलमा भाग लिँदै सत्तापक्ष नेकपा एमालेका सांसदहरुले सरकारले कोरोना नियन्त्रण, स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई प्राथमिकतामा राखेर विपद् व्यवस्थापनका योजनासहित बजेट ल्याएको भन्दै स्वागत गरेका छन् ।  उनीहरुले सरकारले जनताको हितका लागि सबै क्षेत्रलाई समेटेर सन्तुलित बजेट प्रस्तुत गरेकोले सरकारलाई सघाउन उक्त बजेट पास गर्नुपर्ने र कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसदहरुले प्रदेश सरकारले बजेटमा जनताको आशा र अपेक्षालाई बेवास्ता गरी नेता तथा कार्यकर्ता पालनका लागि मन्त्री र नेतामुखी बजेट ल्याएको बताएका छन् ।  प्रदेश सरकारले कोरोनाको खोप र राहतको आशा देखाएर जनतालाई आश्वासन मात्र बाँडेकाले सरकारको बजेट जनता मैत्री नभएको उनीहरुले बताएका छन् । 

त्यस्तै बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले विगत देखिकै अवस्थालाई पछ्याउँदै असन्तुलित बजेट ल्याएकोले यसले प्रदेशका जनताको हित नगर्ने बताएका छन् ।  प्रदेश सरकारले सत्ता र शक्तिको आडमा हेपेर हावादारी र प्रचारमुखी, तथ्याङ्कहिन बजेट ल्याएको उनीहरुको भनाई छ ।

त्यस्तै आजको बैठकमा बजेट माथिको छलफलमा सहभागी हुँदै अन्य दलका सांसदहरुले प्रदेश सरकारका सहुलियतपूर्ण ऋण तथा अनुदानका कार्यक्रममा समेत विचौलिया हाबी भएको भन्दै आपत्ति प्रकट गरे ।  सरकार विपद् व्यवस्थापनमा चुकेको भन्दै कार्यकर्ता र मन्त्री पाल्नमा नै केन्द्रीत रहेको उनीहरुको आरोप छ । उनीहरुले प्रदेश सरकार दलगत स्वार्थ पुरा गर्न अग्रसर रहेकाले बजेटमा प्रदेशका पालिकाहरु बीच विभेद गरेको बताएका छन् ।

त्यस्तै आजै प्रदेशसभाको तेस्रो बैठकसमेत सम्पन्न भएको छ । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका छन् ।   उनले जवाफ दिँदै प्रदेशसभा सदस्यबाट अमूल्य सुझाव आएकाले उक्त सुझावलाई ग्रहण गर्दै अगाडि बढ्ने उनले बताए । 

प्रदेश सरकारले वर्तमान अवस्थामा मूल्याङ्कन गरेर नै बजेट तर्जुमा गरेकाले बजेट सन्तुलित र वास्तविकतामा आधारित रहको बताएका छन् ।  समाजवाद उन्मुख कार्यक्रमका लागि जीवनस्तर सुधारका कार्यक्रममा प्रदेश सरकार गम्भिर रहेको भन्दै कृषि उत्पादनमा अनुदान, कोरोना प्रभावित परिवारलाई उचित व्यवस्था गर्ने गरी बजेट विनियोजन र खर्च हुने बताए । 

कोरोना प्रभावित व्यवसायीहरुलाई समेत प्रदेश सरकारले कर, दस्तुरमा छुट तथा सहुलियत दिने उनले बताए । प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नवीकरण र करमा समेत आवश्यक छुट तथा सहुलियत दिने उनको भनाई छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप