आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक सुचारु गर्न सभामुखद्वारा दलहरूसँग छलफल सुरु

आइतबार, २० असार २०७८, १५ : १५
आइतबार, २० असार २०७८

बागमती प्रदेशसभाको बैठक सुचारु गर्नका लागि सभामुख सानुकुमार श्रेष्ठले सत्तारुढ र विपक्षी दलहरूसँग छलफल सुरु गरेका छन् । सभामुख श्रेष्ठको निवास हेटौंडा उपमहानगरपालिका– १९ मा रहेको सरकारी निवासमा बैठक जारी छ । बैठकमा अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भइरहेको जनाइएको छ ।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको विनियोजन विधेयकमाथि छलफलका क्रममा विपक्षी दलहरुले संविधान र प्रकृयाको विपरित काम गरेको भन्दै संसद् अवरुद्ध पारेका छन् । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बैठक अवरुद्ध गरेका हुन् ।

प्रदेश सरकारले पी.एल.एम.बी.आइ.एस सिस्टममा बजेट प्रविष्ट नगरी संविधान र विधि मिचेर बजेट विवरणको २ प्रकारका पुस्तक प्रकाशन गर्नु संसद्को अवहेलना भएको भन्दै उनीहरुले शनिबारको प्रदेशसभाको बैठक अवरुद्ध गरेका थिए ।

त्यस्तै सरकारले सशर्त तर्फको बजेटमा सत्तापक्ष र प्रतिपक्षका सांसद् तथा स्थानीय तहहरूबीच विभेद गरेको आरोप लगाएका छन् भने सरकारको स्वामित्वमा आमसञ्चार गृह सञ्चालनले प्रेस स्वतन्त्रतामाथि नै प्रहार भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

विद्युतीय बस खरिद र सुरुङ मार्ग निर्माण जस्ता निर्णय फिर्ता हुनुपर्ने र विपद् व्यवस्थापनको बजेट संविधान र संघीयताको विपरित जिल्ला प्रशासन कार्यालयलाई पठाउन नहुने भन्दै उक्त बजेट स्थानीय तहलाई पठाउन उनीहरुले माग गरेका छन् ।

आज आइतबार विहान ११ बजेका लागि आह्वान गरीएको बैठक बजेट पास नहुने देखिएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप