बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नर्भिकमा भोलिदेखि जेनेटिक ल्याब सहितको आईभीएफ सेन्टर संचालनमा आउँदै

मङ्गलबार, २२ असार २०७८, १४ : २०
मङ्गलबार, २२ असार २०७८

काठमाडौं । थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलले असार २३ गते(भोलि)देखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आईभीएफ एन्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याउने भएको छ ।

विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर संचालन हुन लागेको हो । चर्चित बरिष्ठ स्त्री रोग तथा टेस्टट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ ।

डा. शर्माका अनुसार नर्भिक अस्पतालको आईभीएफ एन्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालहरु मध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिने तयारी पूरा भएको र भोलि सेन्टरको उद्घाटन हुने डा. शर्माले जानकारी दिइन् ।

यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । नेपालमा हालसम्म कुनै पनि आईभीएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध छैन । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाडौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै नि सन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ ।

परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझो पन अर्थात नि सन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ ।

बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरूमा बाँझोपन हुने अध्ययनहरुले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप