सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोभिड– १९ प्रतिकार्यका लागि अब गाउँ-गाउँमा जनस्वास्थ्य निरीक्षक खटाइने

बुधबार, २३ असार २०७८, ०८ : १५
बुधबार, २३ असार २०७८

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोरोना संक्रमणको दोस्रो लहर ओरालो लाग्न थालेपछि बल्ल सरकारले प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४८ हजार ८५ र एन्टिजेन परीक्षणबाट ३९ हजार ९१० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको आँकडामा उल्लेख छ । कोरोना संक्रमणबाट हालसम्म देशमा ९ हजार २६३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणको पहिलो लहरमा र दोस्रो लहर उत्कर्षमा पुग्दासमेत कोभिड–१९ प्रतिकार्यका लागि देशभर निरीक्षक परिचालन गर्न नसकेको स्वास्थ्य मन्त्रालयले अब भने देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भएको हो । 

सरकारले कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहमा परिचालनका लागि तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘कोभिड प्रतिकार्यका लागि स्थानीय तहमा रहेका योग्य जनशक्तिलाई खटाउने छौं,’ उनले भने, ‘जहाँ जनस्वास्थ्य अधिकृत छैनन्, त्यहाँ मन्त्रालयले अस्थायी नियुक्ति दिन्छ ।’ जिल्ला-जिल्लामा म्यापिङ गर्न पत्र पठाइसकेको जानकारी दिँदै उनले पत्रको जवाफ आएपछि आवेदन खुला गरेर प्रक्रियामा जाने बताए ।

प्रतिकार्यका लागि कहाँ कति जनशक्ति ?

कार्यविधिमा उल्लेख भएअनुसार कोभिड–१९ प्रतिकार्यका लागि सरकारले देशका कुल ७५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५÷५ जना जनस्वास्थ्य निरीक्षक परिचालन हुने छन् । 
११ वटा उप–महानगरपालिका ३÷३ जनाका दरले निरीक्षक रहनेछन् भने २७६ नगरपालिकामा २÷२ निरीक्षकलाई खटाइने कार्यविधिमा उल्लेख छ । यस्तै ४६० गाउँपालिकामा १÷१ जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइने भएको छ ।
कोभिड–१९ को प्रतिकार्यका खटिने जनस्वास्थ्य निरीक्षकको तलब स्केल ३७ हजार ८७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता अर्थात् १८ हजार ९३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ  हुने कार्यविधिमा उल्लेख छ । 
कामको सिलसिलामा कोभिड–१९ संक्रमित भएमा त्यस्ता निरीक्षकलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने छ भने स्वास्थ्यकर्मीले पाउने जीवन बीमा सुविधासमेत उनीहरुलाई उपलब्ध गराइने भएको छ ।
 
जनस्वास्थ्य निरीक्षकको कार्य तथा जिम्मेवारी

कोभिड–१९को प्रतिकार्यमा लाग्ने जनस्वास्थ्य निरीक्षकले स्थानीय तहमा संक्रमण रोकथामका गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । स्थानीय तहमा खटिने जनस्वास्थ्य निरीक्षकले ‘केस इन्भेस्टिगेसन’ तथा ‘कन्ट्याक्ट टे«सिङ’, स्क्रिनिङ, हेल्थ डेस्क, क्वारेन्टिन, आइसोलेशन, उपचार, सञ्चार गतिविधिहरु सञ्चालनमा विशेष जोड दिने डा. पौडेलले बताए ।

जनस्वास्थ्य निरीक्षकले जोखिम पहिचान भएका स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट सूचना संकलन गरी विश्लेषण गर्ने र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । 
यस्तै, कार्य क्षेत्रमा जनस्वास्थ्यको मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने, जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, कोभिडसम्बन्धी परामर्श, मापदण्ड पालना नगर्नेलाई कारवाहीका लागि सिफारिस गर्ने अधिकार पनि जनस्वास्थ्य निरीक्षकमा हुन्छ । 

कार्यविधिमा जनस्वास्थ्य निरीक्षकहरुको कार्यावधि एकवर्ष हुने उल्लेख छ । यद्यपि महामारीको अवस्था हेरेर कार्यावधि थप गर्ने व्यवस्था गर्न सकिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप