बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता : बा सरकार फेरिएछ नि !

बुधबार, २३ असार २०७८, १३ : ३५
बुधबार, २३ असार २०७८

बा देशमा सरकार फेरिएछ नि ?

फेरिँदै गएको छ

पहिलेदेखि अहिलेसम्म

फेरियो राणा शासन

फेरियो राजा शासन

फेरियो लोकतन्त्रदेखि गणतन्त्रसम्मको आसन

सरकारसँगै सत्ता, सत्तामा आफू र आफ्ना

विधि पद्दति कानुन ।

 

तर, फेरिएन है बा

अँगेनोको टुकी

फेरिएन​  सुदूर गाउँ

बनेनन् सिमानाका पर्खाल

बन्द भएनन् राता बाकस

रित्तिएनन् बुढी आमाका आश

पलाएन समृद्धिको मधुमास

फेरिएन मृत्यु बोक्ने तुइन

निर्बलियाहरुको चित्कार

जातीयताको प्रहार

रुकुमदेखि काठमाडौँसम्म

कैलालीदेखि कञ्चनपुरसम्म

छोएन समृद्धिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म

तर, बा देशमा सरकार फेरिएछ नि ? 

 

ग्यास पेट्रोल पानी, बिद्युत बाटो

अब सबै घरको आँगनजस्तै हुन्छ रे हो बा ?

अपाङ्ग, घाइते, निमुखा, गरिब सबै–सबै

देशको आँखामा आउँछन् रे हो बा ?

कि स्वयम्भूका आँखा निदाएजस्तै

फेरि सरकारका आँखा निदाउँछन् बा ?

अब हाम्री स्यानी नानीका नाना च्यात्नेहरुलाई

मिठाइ त खुवाउँदैनन् नि बा ?

तुहेका सपनाहरुको भ्रूण के फेरि टेस्टट्युब बेबीको सहारामा

नयाँ नेपालको शिविरमा उक्लिन्छ त बा ?

अब सरकार हैन, फेरिनु पर्ने सिस्टम छ ।

फेरिनुपर्ने नेता छ ।

फेरिनुपर्ने विधि छ ।

फेरिनुपर्ने सोच छ ।

सोचसँगै भोट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्दोष नेपाल
निर्दोष नेपाल
लेखकबाट थप