बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

असार लागेपछि

बुधबार, २३ असार २०७८, १३ : ४३
बुधबार, २३ असार २०७८

असार लागेपछि

हलो र कोदालीले खेतका गराहरुलाई कखरा सिकाउँछन्

आशा र खुशीहरु छुपुछुपु रोपिन्छन्

रोपिएका विश्वासका अक्षरहरु

सुर्को, गरो र चल हुँदै

एउटा सिङ्गो जीवन लेख्न तयार हुनु छ ।

 

असार लागेपछि

बाबाको शरीरबाट मेहनतका सुगन्ध फैलिन्छन्

हिलोका रङगोलीहरुले लुगा सजिन्छन्

हातमा उत्साहका टुसाहरु जन्मिन्छन्

त्यो तनले थकान त महसुस गर्छ नै

तर,

आँखा चिम्लँदा झुल्ने सुनौलो रहरका बालाले

सन्तुष्टि दिन्छ मनलाई र भुलाइदिन्छ पीडा ।

 

असार लागेपछि

बादलभन्दा केही हतारमा हुन्छिन् आमा

घर र खेत दुबैतिर समय बर्साउनु छ

कर्मलाइए दुःखको पर्म लगाउनु छ

र, सट्टामा सुखलाई बोलाउनु छ ।

 

असार लागेपछि

हरेक किसानमा –

पराइघर पठाएकी छोरीको यादले मुटु चर्किएजसरी

हिलोले औंलाका कापहरुमा बनाएको घाउ चर्कन्छन्

अँगेनाबाट उडेर पर पुगेको खरानीजस्तै

परदेशमा पुगेको छोराले

झर्किएर बोल्दा मन कत्ति दुख्दैन

बोली सुन्न पाएकोमा हर्षित  हुन्छन्

त्यस्तै,

चूक अमिलो घाउहरुमा दल्दै गर्दा चहर्याउँदैन

भोलि सबै ठीक हुने आशामा दुखाई मर्छ ।

 

असार लागेपछि

झरीबाट जोगिन

गिलासहरु छिटोछिटो भरिन्छन्

जर्किनहरु रित्तिन्छन्

साहुनीको सासभन्दा छिटो पैसा चल्छ

रक्सीको कामुक नजरभन्दा पहिले पैसाले साहुनीलाई छुन्छ ।

असार लागेपछि

प्रेमिल जोडीहरु

पहाडको, खोचको हुस्सु सरी लुक्न चाहान्छन् अँगालोमा

रोमाञ्चकताका शीतहरु

टल्किन्छन् आँखाभरि

शान्त झरीमा

अशान्त आवेगहरु उत्तेजित हुन्छन् ।

 

असार लागेपछि

आकाशलाई बैँस आउँछ र प्रेम बर्साउँछ

धर्तीमा यौवन भरिन्छ र गर्भाधारण गर्छ

खोला खोल्साहरु उन्मादले उम्लिँदै दौडिन्छन्

कुहिरो प्रकृतिसँग कुहिनो जोड्दै नाच्छ

माटोका प्रत्येक दानाले सन्तान जन्माउँछन् ।

 

असार लागेपछि

अपवादमा

कहिँकतै चुहिन्छन्

कहिँकतै पुरिन्छन्

कहिँकतै बग्छन

सन्तुष्टिका महलहरु

केही थान सासहरु ।

 

असार लागेपछि

मेरो गाउँ सपनाको बाउसे गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष सरील
सन्तोष सरील
लेखकबाट थप