सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले मिलाउने सूत्र : हस्ताक्षर र संसद् विघटनबारे ‘साझा’ भाषाको खोजी !

बुधबार, २३ असार २०७८, १७ : ४७
बुधबार, २३ असार २०७८

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरूले विवाद समाधान उन्मुख भएको दाबी गरेका छन् । यद्यपि कार्यदलभित्र दुई महत्त्वपूर्ण विषयमा सहमति जुट्न भने बाँकी नै रहेको छ ।

एमाले नेताहरूका अनुसार अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटन र माधव नेपाल समूहले अदालतमा बुझाएको हस्ताक्षरबारे मौन रहँदै सहमति खोज्ने प्रयासको थालनी भएको छ । तर सहमतिको भाषा फेला परिसकेको छैन ।

कार्यदलका एक सदस्यका अनुसार एमाले केन्द्रीय कमिटीको सङ्ख्या र माओवादीबाट एमाले आएका नेताहरूको व्यवस्थापनमा समस्या छैन । यसअघि एमालेको केन्द्रीय कमिटी २४१ मान्ने कि २६४ भन्नेमा विवाद थियो ।

​असन्तुष्ट माधव पक्षले २४१ भन्दै आएको थियो भने अध्यक्ष ओली पक्षले माओवादीबाट एमाले प्रवेश गरेका बादलसहितको २६४ भन्दै आएको थियो । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन र विघटनविरुद्ध खनाल–नेपाल पक्षका नेताहरूले गरेको हस्ताक्षर दुवै गलत भए पनि ती विषयको सम्बोधन गर्ने भाषा कस्तो प्रयोग गर्ने भन्नेमा कार्यदलमा सहमति हुन सकेको छैन ।

कुन भाषा प्रयोग गर्ने भन्नेमा नेताहरुबीच छलफल भए पनि एक पक्षले प्रस्ताव गरेको भाषा अर्को पक्षले अस्वीकार गरेको बताइएको छ । त्यसपछि मध्यमार्गी उपाय लगाएर साझा भाषा खोज्नेमा नेताहरू लगभग सहमति नजिक पुगे पनि उक्त भाषा के उल्लेख गर्ने भन्नेमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता गराउने प्रयासमा नेताहरू लागेका छन् ।

स्रोतका अनुसार कार्यदलभित्र सहमति खोज्ने विषयमा प्रतिनिधि सभा विघटन र पुनर्स्थापनाका लागि गरिएका हस्ताक्षरबारे कुनै शब्द नै उल्लेख नगर्ने सम्भावना छ । यसो गर्दा दुवै पक्ष ‘वीनवीन’ हुने एमाले नेताहरूको बुझाई छ ।

‘संसद् विघटन र अदालतको मुद्दा फिर्ताबारे मौन बस्ने गरी मस्यौदा बन्नेछ’, एमालेका एक नेताले रातोपाटीसँग भने, ‘त्यो ढङ्गको मस्यौदा बनेपछि अध्यक्ष ओली र नेता माधव नेपालबीच निर्णायक भेटवार्ता हुनेछ ।’ ती नेताका अनुसार सम्भवतः बुधबार बेलुका वा बिहीबार कार्यदलको बैठक अघि ओली र नेपालबीच निर्णायक भेटवार्ता गराउने प्रयास भइरहेको छ ।  

बुधबार सिंहदरबारमा बसेको एमाले कार्यदलको तेस्रो दिनको बैठकमा विवाद समाधान उन्मुख दिशामा अघि बढेको दुवैतर्फका नेताहरूले दाबी गरे पनि कुन विषयमा कसरी सहमति जुट्यो र कुन कुन विषयमा सहमति जुट्न बाँकी छ भन्ने खुलाएनन् ।

एमाले प्रवक्ता तथा अध्यक्ष ओलीतर्फका कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलभित्रको छलफल सकारात्मक र निष्कर्षउन्मुख भएको बताए ।

उनले बिहीबारसम्म विवाद टुङ्गिने विश्वास समेत व्यक्त गरे ।

 

‘कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने, उहाँहरूका भावनाहरू बुझ्ने कुराहरू पनि भइरहेको छ । कार्यदल भित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन्’, प्रवक्ता ज्ञवालीले भने, ‘हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधिक कारणले ढिलो हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुङ्गिने विश्वास छ ।’

कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले पनि छलफल सकारात्मक ढङ्गले अघि बढेको भन्दै पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासबारे अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेर कार्यदल टुङ्गोमा पुग्न लागेको बताए ।

बुधबार साँझसम्ममा कार्यदल तथा शीर्ष नेताहरूसँग थप छलफल गरेर भोलिको कार्यदलको बैठकबाट एकताबारे टुङ्गो नेम्वाङको भनाइ छ ।

‘अहिले जे जति तयारीहरू भएका छन् त्यसलाई अझ परिष्कृत गर्न आज दिनभर थप गृहकार्य आवश्यक छ भन्नेमा हामी पुग्यौँ’, नेम्वाङले भने, ‘तयारीको सिलसिलामा अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सबैसँग कुरा गर्दै उहाँहरूको समेत फिडब्याक लिएर हामीले टुङ्गोमा पुग्ने प्रयासहरू गरेका छौँ ।’

कार्यदल बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्ष बीच अविश्वासको खाडल कम भएको बताए ।

सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशील बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको व्यवस्थापन गर्ने र प्रतिनिधि सभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफूहरूले चाहेकै भाषामा सहमति खोज्न नजिक आइपुगेको  विष्टको भनाइ छ ।

‘जुन जुन मुद्दाहरूमा विवाद देखा परेको थियो । ती मुद्दाहरूमा समाधान खोज्ने सन्दर्भमा झन्डै झन्डै निष्कर्षमा पुगिरहेका छौँ । र एउटा छोटो अवधिमा हामीले समस्याहरूको समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्ने कुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ’, विष्टको भनाइ छ ।

उनले अदालतको फैसला मुताबिक २०७५ जेठ २ गतेको अवस्थामा नेकपा(एमाले) फर्किइसकेपछि पार्टी र जनसङ्गठनका सबै तहका कमिटीहरूलाई पूर्ववत् अवस्थामा फर्काएर क्रियाशील बनाउने नेकपा(एमाले) केन्द्रीय कमिटीको सन्दर्भमा, सङ्ख्यामा जे विवाद थियो त्यो सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा(माओवादी)को तर्फबाट नेकपा(एमाले)मा एकताको सन्दर्भमै रहेका साथीहरूको व्यवस्थापन गर्ने विषय र प्रतिनिधि सभा विघटन र अदालतमा परेको मुद्दाको सन्दर्भमा समाधान खोज्ने गरी हामीले जुन भाषामा सहमति खोज्नुपर्थ्यो त्यो सन्दर्भमा धेरै हिसाबले नजिक आइपुगेको दाबी गरे ।

‘लामो समयदेखि हामी एकअर्कोविरुद्ध आरोप प्रत्यारोपमा उत्रिने परिस्थिति निर्माण भएको थियो । अन्तिममा अविश्वासको त्यो खाडल कम भएको छ विश्वासको वातावरण निर्माण भएको छ’, विष्टले भने, ‘एकले अर्काको समस्याहरू बुझ्ने एउटा पक्षले अर्को पक्षको मनोविज्ञान बुझ्ने र समाधानका लागि त्यही ढङ्गले परस्पर सद्भाव र सहयोगी भूमिकाका साथ अगाडी बढ्ने अवस्था देखा परेको छ । हामी विषयवस्तुकै हिसाबले पनि धेरै बुँदाहरूमा सहमतिको नजिकमा छौँ ।’ विष्टले लामो प्रयत्नले सार्थक परिणाम प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप