सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेमा दुई गुटको बैठक : सिंहदरबारमा माधव पक्ष, प्रधानमन्त्री कार्यालयमा ओली

बिहीबार, २४ असार २०७८, १३ : ५६
बिहीबार, २४ असार २०७८

नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालय*तिर लागेका छन् ।

पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । विहीबार पनि बिहान ११ बजेपछि कार्यदलको बैठक बसेको थियो । तर, केही समय आन्तरिक गृहकार्य गर्ने भन्दै बैठक रोकिएको छ ।

आपसी छलफल गरेर साँझ ७ बजे पुनः बैठक बस्ने तयारी छ । आजै सहमति जुटाउने र ओली–माधवको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्ने प्रयासमा एमालेका दोस्रो तहमा नेताहरु सक्रिय बनेका छन् ।

यही क्रममा बुधबार राति मेरियट होटलमा केपी ओली र माधवकुमार नेपालवीच वार्ता भएको थियो । वार्तामा दुबै नेताहरु आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको थिएन ।

पार्टी एकताका आधारहरु खोज्नका लागि गठित एमाले कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल  सहभागी छन् । त्यस्तै, माधव समूहबाट भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

विहीबार बिहानको बैठक सकिएपछि कार्यदलका सदस्यमध्ये अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल आफ्नै कार्यकक्षमा रहेका छन् भने माधव समूहका पाँचैजना नेताहरु अर्थ मन्त्रालयमै आन्तरिक छलफलमा जुटेका छन् ।

सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल प्रधानमन्त्री कार्यालयतिर लागेका छन् ।​

* यसअघि प्रधानमन्त्री कार्यालयको ठाउँमा बालुवाटार भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप