आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्री गैरजिम्मेवार बनेको काँग्रेसको आरोप

शुक्रबार, २५ असार २०७८, १० : ३५
शुक्रबार, २५ असार २०७८

नेपाली काँग्रेसले धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको समाधान गर्न प्रतिष्ठानका कूलपति रहेका प्रधानमन्त्री केपी ओली शर्मालाई आग्रह गरेको छ । प्रतिष्ठानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा काँग्रेस गम्भीर चिन्ता व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शुन्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो । कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ ।’

प्रतिष्ठान भित्र अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएको बताउँदै काँग्रेसले त्यसको ढाकछोप नभएर आवश्यक उपचार जरुरी रहेको बताएको छ । ‘प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पुर्‍याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र  विद्यार्थीहरूसँग सार्थक संवादमार्फत् जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली काँग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप