आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभा बैठक : सरकारको  आलोचना

आइतबार, २७ असार २०७८, १६ : ३०
आइतबार, २७ असार २०७८

कैलाली ।  सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले सरकारको  आलोचना गरेका छन् । प्रदेशमा बढ्दै गएको हत्या हिंसा र विपद्का घटनामा आम नागरिकका पक्षमा सरकारले काम गर्न नसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षले प्रदेश सरकारको आलोचना गरेका हुन् ।

आइतबारको प्रदेश सभा बैठकको शून्य समयलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले प्रदेशमा बढ्दै गएको अपराधमा प्रदेश सरकारले गहन तरिकाले अनुसन्धान अघि बढाउन नसकेको भन्दै जनता निराश भएको बताए । उनले भने, ‘भर्खरै डडेलधुरामा अस्मिता धामीको हत्या भएको छ । त्यस घटनामा संलग्न व्यक्तिको पहिचान पनि गर्न सकेको छैन । यस्ता दर्जनौँ हत्याका घटनामा प्रदेश सरकार चुकिरहेको छ ।’

उनले प्रदेशको कैलाली र कञ्चनपुरमा लागु औषध सेवनकर्ता तथा तस्करी बढी रहेको प्रति सरकारले ध्यान दिन नसकेको बताए । उनले भने –‘सीमानाकाबाट लागु औषधको कारोबार भइरहेको छ । यसले प्रदेशलाई थप जोखिम पारिरहेको छ । यस्ता घटनाप्रति प्रदेश सरकार गम्भीर होस् ।’

नेकपा एमालेका प्रदेश सभा सदस्य हर्कबहादुर कु“वरले विपद्मा ज्यान गुमाएका परिवार र घाइते भएका परिवारका पक्षमा प्रदेश सरकारले काम गर्न नसकेको बताए । उनले भने, ‘बाजुरा, अछाममा तटबन्धका लागि बजेट गए पनि अन्य जिल्लाका बाढी प्रभावितहरूले क्षतिपूर्ति पाउन सकेका छैनन् ।’

नेकपा एमालेकै प्रदेश सभा सदस्य ग्याल्बुसिंह बोहराले दार्चुलामा आएको पहिरोमा ज्यान गुमाएका र घाइते भएका परिवारलाई प्रदेश सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने माग गरे । उनले भौतिक संरचनामा पुगेको क्षतिको मूल्याङ्कन गरी मर्मत गर्न पनि सुझाव दिए ।

दफावार छलफलका लागि प्रदेश प्रहरी ऐन विषयगत समितिमा

सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले विषयगत समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन् । 

सभामुख अर्जुनबहादुर थापाले विधेयक विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफलका लागि पठाइएको जानकारी दिए ।

यसअघि सो विधेयकमाथि सामान्य छलफलका लागि पेस भएको थियो । सामान्य छलफलमा भाग लिँदै नेकपा एमालेका प्रदेश सभा सदस्य प्रकाश रावल, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महेशदत्त जोशी, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्त र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्ण चौधरीले भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप