सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

४८ लाख बालबालिकालाई खुवाइन्छ पोलियो थोपा, १० प्रतिशतले गर्दैनन् पूरा

मङ्गलबार, ०७ कात्तिक २०७४, १६ : ५८
मङ्गलबार, ०७ कात्तिक २०७४

काठमाडौं– अक्टोवर २४ अर्थात आज विश्व पोलियो दिवस मनाइरहँदा सरकारी निकाय भने नेपालमा पोलियो रोगी नभएको बताउदै आइरहेको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा सन् २०१० मा नै पोलियो रोगी नभएको भन्दै नेपाल पोलियो फ्री भएको जानकारी गराएको बालस्वास्थ्य महाशाखाको भनाई छ । 

महाशाखाका खोप अधिकृत भरत भण्डारीकाअनुसार नेपालमा पोलियोको कार्यक्रम अन्य देशमा भन्दा निकै प्रभावकारी तवरले संचालन भएको हुँदा पोलियो रोगी भेटिएका छन् ।  बालबालिकालाई ११ प्रकारको रोगविरुद्ध पोलियो थोपा खुवाईदै आइरहेको छ । जसअन्तर्गत ४० देखि ४२ लाख ५ वर्ष मुनिका र साढे ६ लाख १ वर्ष मुनिका बालिबालिका रहेको महाशाखाले जनाएको छ । 

नेपालमा वि.स २०३५ देखि विस्तारी कार्यक्रममार्फत पोलियो थोपा खुवाइँदै आइरहेको थियो भने वि.स २०४५ मा यस कार्यक्रमलाई राष्ट्रिय कार्यक्रममा परिणत गरियो ।  अहिले एक वर्ष मुनिका बालिबालिकालाई नियमित र १ देखि ५ वर्षसम्मका बालबालिकालाई राष्ट्रिय पोलियो खोप कार्यक्रममार्फत पोलियो थोपा खुवाइँदै आइरहेको छ । 

नियमित पोलियो थोपा खान छुटेका बालबालिकालाई राष्ट्रिय कार्यक्रम मार्फत खुवाइने र सबै स्वास्थ्य संस्थामा पोलियो थोपा जुनसुकै समयमा खुवाउन पाइने हुँदा छुट्नेको संख्या नरहेको अधिकृत भण्डारी बताउँछन् । 

तर ११ प्रकारकै सबै खोप पूरा नगर्ने अझै १० प्रतिशत बालबालिका रहेको उनको अनुमान छ । वि.स. २०५३ सालदेखि अहिलेसम्म राष्ट्रिय खोप अभियानमार्फत १६ पटक पोलियोको कार्यक्रम संचालन गरिएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पोलियो रोगलाई सन् २०१८ देखि १९ सम्म विश्वबाट नै उन्मुलन गर्ने लक्ष्य राखेको छ । नेपाललाई भने अहिले पोलियो विरुद्धको कार्यक्रम र विरामीको संख्या नभएको कारण उन्मुलनमा खासै चुनौनी नहुने भण्डारीले बताए ।   

पोलियो खोपको लागि मात्रै साढे ५ अर्ब खर्च गर्दै आइरहेको सरकारी निकायको भनाई छ । जसमा ७० प्रतिशत दातृनिकाय र ३० प्रतिशत नेपाल सरकारको लागानी रहन्छ । नेपाल सरकारको डेढ अर्ब र गाभी को ४ अर्ब सहयोग रहेको छ ।  नेपाल सरकारलाई पोलियो कार्यक्रममा विश्व स्वास्थ्य संगठन, यूनिसेफ, गाभी, रोटरी क्लब, लाइन्स र नेपाल रेडक्रस सोसाइटीको सहकार्य र सहयोग रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप