सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इराक  : कोभिड वार्डमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु

मङ्गलबार, २९ असार २०७८, १० : ४२
मङ्गलबार, २९ असार २०७८

इराकको एक अस्पतालमा कोरोना भाइरस आइसोलेशन वार्डमा आगलागी हुँदा कम्तीमा ५० भन्दा बढीको मृत्यु भएको छ ।

यद्यपि, इराकको नसिरिया शहरको दक्षिणमा अल–हुसैन अस्पतालको आगलागी सोमबार अबेर रातीसम्म नियन्त्रण पाइएको थियो ।

हाल आगलागीको कारण स्पष्ट छैन तर सुरुवाती अनुसन्धानमा आगो एक अक्सिजन ट्याङ्कमा बिस्फोट भएपछि फैलिएको अनुमान गरिएको छ ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।

यस्तै बिरामीका आफन्तले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।

रोयटर्स समाचार एजेन्सीले प्रहरीसँगको झडपको खबर पनि दिएका छन् । एजेन्सीका अनुसार प्रदर्शन गरिरहेका मानिसहरुले प्रहरीका दुई वहानमा आगलागी गरिदिएका छन् ।

चिकित्सा अधिकारीले असोसिएटेड प्रेस न्यूज एजेन्सीलाई बताए अनुसार नयाँ वार्डमा ७० बेडका लागि स्थान थियो र यो तीन महिना अघि मात्रै बनाइएको थियो ।

एक स्थानीय स्वास्थ्य अधिकारीले आगलागीको समयमा कम्तीमा ६३ जनाभन्दा बढी भएको जानकारी दिएका छन् ।

न्यूज एजेन्सी रोयटर्सलाई अस्पतालका गार्डले भने, ‘मैले सुरुमा कोरोनाभाइरस वार्डभित्र एउटा तेज बिस्फोट सुनेँ र त्यसपछि भीषण आगलागी देखेँ ।’

दुर्घटनापछि खोजी अभियान अहिले पनि जारी छ ।

इराकका संसद मोहम्मद अल–हलबौसीले ट्वीट गर्दै भने, ‘इराकी जनताको जीवनको सुरक्षा गर्न नसक्नुको यो एउटा स्पष्ट प्रमाण हो । र यो यस विफलतालाई अन्त्य गर्ने समय हो ।’

यसअघि अप्रिल महिनामा बागदादको एक अस्पतालमा पनि एउटा अक्सिजन ट्याङ्क बिस्फोट भएको थियो । उक्त दुर्घटनामा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो ।

बिस्फोट र आगलागीको उक्त घटनापछि स्वास्थ्य मन्त्री हसन अल–तमीमीले राजीनामा दिएका थिए ।

वर्षौंदेखि युद्ध, उपेक्षा र भ्रष्टाचार झेलिरहेको इराकको स्वास्थ्य व्यवस्थामा कोरोना भाइरस महामारीको गम्भीर मार परेको छ ।

जोन हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डमा रहेको आँकडा अनुसार इराकमा कूल १४ लाख संक्रमित भेटिइसकेका छन् र कोरोना भाइरसका कारण हालसम्म १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप