सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२ सय ९ किलो गाँजासहित ३ जना पक्राउ

बुधबार, ३० असार २०७८, १५ : ००
बुधबार, ३० असार २०७८

हेटौंडाको २ स्थानबाट २ सय ९ किलो लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान २ वटा ट्रकमा लुकाई छिपाइ ल्याएको २ सय ९ किलो लागु औषध गाँजासहित ३ जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा बुधबार विहान १० : ४५ बजेको समयमा हेटौंडा–१५ रातमाटेबाट बि.आर ०१ जी.जी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलो लागूऔषध गाँजा बरामद भएको हो । 

पूर्वपश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट बारातर्फ जाँदै गरेको उक्त भरतीय ट्रकलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको सो परिमाणको लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । 

उनका अनुसार, उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने बर्ष ३० को रविन्द्र राय र सोही स्थान बस्ने ट्रकका सह–चालक बर्ष ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको हो । त्यस्तै बुधबार बिहान करिब ७ बजेको समयमा हेटौंडा–१९ नेवार पानीबाट ना ६ ख ३७४१ नं. को कन्टेनरमा लुकाई छिपाइ ल्याएको ४० किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पूर्वपश्चिम राजमार्ग अन्र्तगतको सो सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा सो परिमाणमा लागुऔषध गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक रिमालले बताए ।  उनकाअनुसार उक्त कन्टेनरका सह–चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर–४ बस्ने बर्ष १९ को दिपक गुरुङलाई पक्राउ गरिएको उनले बताए ।  पक्राउ परेका उपर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप