पिल्सिएको हृदय
शुक्रबार, ०१ साउन २०७८, ११ : २८
-रमेश रेग्मी
लालच र सत्ता मोहले धमिलो बादल
देशको आकाशमा थुप्रिएपछि,
मान्छेका आँखाले नै मान्छेलाई
मान्छे नदेख्दो रहेछ,
महलका हृदयहरूले
छाम्न नसक्दो रहेछ
झुपडीका घाउहरू,
त्यसैले त
विभेद निर्दयताको बलियो पर्खाल
बनेर उभिरहेको छ
हत्या, हिंसा र अपराधका
करामतहरू मौलाइरहेका छन्
निमुखाको संवेदनामाथि
निस्ठुरी समयको अघि
निर्भीकताले नागेपछि निर्लज्जाको परिधि
सकिएपछि विश्वास मर्यादाको
ढलेपछि उचाइ मानवताको
मेटिएपछि फैलावट स्वाभिमानको
पिल्सिरहेको छ देशको हृदय
दुःखको आलापहरूमा ।