कति छिटो बिर्सिएका कोरोना, बसन्तपुर क्षेत्रमा देखियो यस्तो भीड (फोटोफिचर)
कोरोना महामारीका कारण स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञा खुकुलो बनाउँदै प्रशासनले दैनिक जनजीवन सामान्य बनाउन खोजेको देखिन्छ ।
मानिसहरुलाई हिँडडुल गर्दा स्वास्थ्य मापदण्ड पालनाका साथै दुई मिटरको दूरी कायम गर्न भनिएको छ । भिडभाड नगर्न, निश्चित समय पसल व्यवसाय सञ्चालन गर्न तथा अनिवार्यरुपमा मास्क प्रयोग गर्न पनि भनिएको छ ।
तर शनिबार राजधानीको बसन्तपुर क्षेत्रको तस्बिर हेर्दा लाग्थ्यो–काठमाडौंमा कोरोनाभाइरसको महामारी नै छैन ।
रातोपाटीको क्यामेरामा कैद तस्बिरहरुमा कतिपयले मास्क नै नलगाएको प्रष्ट देखिन्छ भने भिडभाड उस्तै छ–न सामाजिक दुरी त पर्याप्त सावधानी नै । कोरोना महामारीको पर्बाह नगरी उनीहरु खुला स्थानमा फोटो खिचाउने देखि घुमफिर गरिरहेको देखिन्छ ।
यो त उदाहरणमात्रै हो, पछिल्लो समय काठमाडौंमा कोरोनाको महामारीका बीच पनि भीडभाड बढेको पाइएको छ भने लापरबाही पनि उत्तिकै बढ्दो छ । बसन्तपुरको भिडभाड देखेर एक व्यक्ति भन्दै थिए, ‘कति छिटो बिर्सिएका हुन् कोरोना कहर पनि । स्वास्थ्य मापदण्ड त पालना गरिदिए हुने ।’
आज शनिबार भएकाले पनि बसन्तपुर क्षेत्रमा किनमेलका लागि पुगेकाहरुको चाप बढी रहेको एक व्यवसायीले बताए ।
उसो त पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेकोमा अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो ।
निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो ।