सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माधवप्रति आक्रामक ओली, देउवालाई सफल तुल्याउन काँग्रेस एकजुट

सोमबार, ०४ साउन २०७८, २१ : २७
सोमबार, ०४ साउन २०७८

आज २०७८ साउन ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुसँग स्पष्टीकरण माग, मन्त्रिपरिषद बैठक : मनाङ र सिन्धुपाल्चोक विपत् संकटग्रस्त जिल्ला घोषणा लगायत छन् ।

१. माधव नेपालसहित २२ एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधियो

नेकपा एमालेले पार्टी निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले ती सांसदहरुले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले कार्यदलबाट सहमति जुटाएर पेस गरिएको १० बुँदे एकता प्रस्ताव पारित गरेको छ । बैठकमा एमाले अध्यक्ष ओलीले भीम रावलले सांसद पदबाट हतारमा राजीनामा दिएको ठहर गर्दै राजीनामा फिर्ता लिन सुझावसमेत दिएका छन् । केन्द्रीय कमिटी बैठकपछि ओलीको निजी निवास बालकोटमा पुगेका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा देउवाको पक्षमा विश्वासको मत दिएका एमाले नेताहरुमाथि कस्तो कारवाही गर्ने भन्नेबारे छलफल भएको छ ।

२. मन्त्रिपरिषद बैठक : मनाङ र सिन्धुपाल्चोक विपत् संकटग्रस्त जिल्ला घोषणा

सरकारले मनाङ र सिन्धुपाल्चोक जिल्लालाई विपत् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज मसान्तसम्म लागू हुने गरी ती दुवै जिल्लालाई विपत् संकटग्रस्त घोषणा गरेको हो । मन्त्रिपरिषद बैठकले स्वास्थ्य सेवातर्फको सचिवमा डा. रोशन पोखरेललाई नियुक्त गरेको छ ।

३. देउवा सरकारलाई सफल तुल्याउने काँग्रेस नेताहरुको दृढता

नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा शेरबहादुर देउवाका प्रतिस्पर्धी मानिएका रामचन्द्र पौडेलसहितका नेताहरुले देउवा सरकारलाई सफल तुल्याउने दृढता व्यक्त गरेका छन् । काँग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार देउवा इतर पक्षका नेताहरुको बैठकले राष्ट्रिय संकटको समाधान गर्ने दायित्व काँग्रेसकै काँधमा परिस्थितिले सुम्पिएको ठहर गर्दै वर्तमान सरकारलाई सफल तुल्याउन भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । उनीहरुले देउवा नेतृत्वको सरकारको सफलता नै काँग्रेसको सफलता हुने भन्दै सरकारलाई सफल तुल्याउन आफूहरुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

४. देउवासँग मोदीको फोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार फोनमार्फत बधाइ तथा शुभकामना दिएका छन् । देउवाले विश्वासको मत हासिल गरेलगत्तै आइतबार साँझ ट्वीटरमार्फत बधाई दिएका मोदीले सोमबार टेलिफोन सम्पर्कमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी इमरान खानले पनि बधाई तथा शुभकामना दिएका छन् ।


५. ओलीको बोली : देउवाले कोभिडविरुद्धको खोपलाई प्राथमिकता दिइरहन आवश्यक छैन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको खोपलाई प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका छन् । कोभिडविरुद्ध खोपको व्यवस्था गर्न नसकेको भनेर आफ्नो कार्यकालमा आलोचित भएका ओलीले आफ्नो नेतृत्वको सरकारले सबै नेपालीका लागि खोप उपलब्ध हुने सुनिश्चितता गरिसकेको दाबी गर्दै वर्तमान सरकारले खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको टिप्पणी गरेका हुन् । उल्लेखनीय छ, प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता नै सबै नेपालीका लागि खोपको उपलब्धता रहने बताएका छन् ।

६. खोप केन्द्रहरुको अनुगमनमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप केन्द्रहरुको अनुगमन गरेका छन् । कोरोनाविरुद्धको खोपलाई सरकारको पहिलो प्राथमिकतामा राखेका प्रधानमन्त्री देउवाले सोमबार काठमाडौंको जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गरेका हुन् । सोमबारदेखि सरकारले प्राथमिकता सूचीका आधारमा जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरेको छ ।

७. स्पष्टीकरण सोध्ने ओलीको निर्णयपछि माधव नेपाल पक्षका नेताहरु छलफलमा

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको एमाले बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि माधव नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई ओली पक्षले स्पष्टीकरण सोध्ने निर्णय गरेको सन्दर्भमा आगामी रणनीति बनाउनका लागि छलफल थालिएको बताइएको छ ।

८. अध्यादेश अन्तर्गत संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा पूरक निवेदन

संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज भए पनि ओली सरकारले सो अध्यादेशमार्फत नियुक्त गरेका पदाधिकारी बहाल रहेको भन्दै उनीहरुको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरिएको छ । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरेका हुन् । उनले यसअघि अध्यादेशमार्फत संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस तथा नियुक्ति सम्बन्धी कार्यहरु बदर गरिपाउँ भन्दै रिट निवेदन दर्ता गराएका थिए ।​


९. दुई हजार ४४५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।


१०. र, यो पनि

प्रदेश २ का धनुषा, सर्लाही लगायतका जिल्लाका काँग्रेस नेता तथा कार्यकर्ताहरुले क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि सारेको ‘मेक इन नेपाल, स्वदेशी अभियान’ कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेट गर्दै दुई देशबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप