सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा अमेरिका, जर्मनीसहित ७० बढी देशबाट आउँछन् श्रमिक

१७ हजार बढीले लिए श्रम स्वीकृति
मङ्गलबार, ०५ साउन २०७८, १० : ४३
मङ्गलबार, ०५ साउन २०७८


रोजगारीको खोजी गर्दै विदेशिने नेपालीको जमात ठुलो छ । सामान्य अवस्था हुँदो हो त दैनिक झण्डै १५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । नेपालबाट विदेशिने मात्रै होइन, विदेशबाट नेपालमा पनि रोजगारीका लागि श्रमिकहरु आउने गरेका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो एक दशकमा १७ हजार बढी विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।

यसमा १४ हजार ९ सय २५ पुरुष र २ हजार ७६ जना महिला रहेका छन् ।  ७० भन्दा बढी देशबाट नेपाली कामदार आउने गरेका छन् । यसमा जर्मनी, बेलायत अमेरिका लगायतका देशबाट पनि नेपालका काम गर्न आउने गरेको देखिएको छ ।

विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिए अधिकतम सात वर्षसम्म बस्न पाउने व्यवस्था रहेको विभागका प्रवक्ता  मणिनाथ गोपले बताए । सन् २०१७ देखि ०२१ सम्म (चार वर्षको अवधिमा) ७ हजार ५ सय ८९ जना विदेशी कामदारले नेपालमा रोजगारीको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

यो अवधिमा सबैभन्दा धेरै चिनियाँ कामदारले श्रम स्वीकृति लिएका छन् । उत्पादन, सेवा मूलक, निर्माण र अन्य क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई श्रम अनुमति जारी गरिएको विभागले जनाएको छ ।

चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापक, निर्माण क्षेत्र, वस्तुकला, सूचना प्रविधि लगायत क्षेत्रमा काम गर्न आउने विदेशी कामदारलाई पनि श्रम स्वीकृति जारी गर्ने गरेको श्रम विभागले जनाएको छ ।

एउटै आयोजनाका लागि २ सयभन्दा बढी विदेशी कामदारले श्रम स्वीकृति लिने गरेको विभागको भनाइ छ । पछिल्लो समय चीन, भारत, दक्षिण कोरिया लगायतका देशले नेपालमा उद्योग, होटल, रेस्टुरेन्ट र अन्य आयोजनामा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । यसरी लगानी गरिएका उद्योग, आयोजना, होटल–रेस्टुरेन्टमा पनि धेरै विदेशीले नै काम गर्ने गरेका छन् ।

भूकम्प पछिको पुनर्निर्माणका लागि पनि  धेरै कामदार नेपाल आएका थिए ।

स्वीकृति लिएर आउने भन्दा नलिइ आउने बढी

नेपाल र भारतको खुल्ला सिमानाका कारण नेपाल आउन अथवा भारत जान भिसाको आवश्यक पर्दैन । यसकारण पनि नेपालमा भारतीय कामदार अझै बढी रहेको छ । उनीहरुको रेकर्ड विभागसँग छैन ।

 प्रवक्ता गोपका अनुसार मेडिकल फिल्डमा काम गर्न आउने डाक्टर लगायतका स्वास्थकर्मीले भने मेडिकल काउन्सिलबाट अनुमति लिने गरेका छन् । उनीहरुले कमाएर लैजान सहज होस् भनेर अनुमति लिने गरेको उनले बताए । यस्तै कुनै कम्पनीमा सीईओ बनेर आउनेहरूले पनि अनुमति लिने विभागले जनाएको छ । अन्यथा अन्य काममा लागि आउन अधिकांश अनुमति नलिइ आउने गरेका छन् ।

सात वर्षभन्दा बढी बस्न नपाइने

कुनै विदेशी कामदार नेपालमा अनुमति लिएर आएको छ भने त्यस्ता विदेशी अधिकतम सात वर्षभन्दा बढी बस्न नपाउने प्रावधान छ । सकेसम्म स्वदेशी जनशक्तिलाई नै काम गराउने नसक्ने अवस्थामा उच्च तहमा मात्र त्यस्ता विदेशी कामदार ल्याउने गरिएको गोपको भनाइ छ ।

उनले भने, ‘उच्च तहमा ल्याइएका कामदारको अण्डरमा रहेर एक जना नेपालीले काम गर्ने गरी राखिन्छ ताकि उसले सिक्न पाओस् ।’

तर सात वर्षसम्म सो व्यक्तिले सिकिसक्ने भएकाले विदेशी कामदारलाई सात वर्षपछि नेपाल पुनः काम गर्न आउन नपाउने गरी अनुमति खारेज गर्ने गरिएको उनको भनाइ छ ।

नेपालमा जोसुकै कामदार प्रवेश गर्न सक्ने अवस्था हुँदैन । प्राविधिक र दक्ष व्यक्तिलाई मात्र काम गर्न दिइन्छ । दक्ष र प्राविधिकले ३ वर्षसम्म काम गर्न सक्छ र तिन वर्षपछि त्यस्ता व्यक्ति विशिष्ट दक्ष हुनुपर्छ । पाँच वर्षसम्म विशिष्ट दक्ष भएर काम गरेपछि अर्को दुई वर्ष बस्नको लागि भने श्रम मन्त्रालयबाटै स्वीकृति चाहिन्छ ।

सामाजिक तथा आर्थिक क्षेत्रमा ठुलो योगदान गरेकाहरुलाई मात्र मन्त्रालयले स्वीकृति दिने गरेको विभागको भनाइ छ ।

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप