चाँदीका गरगहनासहित एक व्यक्ति पक्राउ
बुधबार, ०६ साउन २०७८, १७ : ४७
प्रहरीले वीरगञ्जबाट ५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहना सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट ५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहनासहित चितवन खैरेनी नगरपालिका–२ श्रीया ज्वेलर्सका सञ्चालक सप्तरी राजविराज उपमहानगरपालिका–२ मेघराका ४३ वर्षीय अंगत साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट अवैध रूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । उनलाई उक्त चाँदीसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।