जोन्सन एन्ड जोन्सनको खोप लगाएपछि मृत्यु प्रकरण–पोष्टमाटम रिपोर्टसहित विज्ञ समूहले अध्ययन गर्दै
गएको शुक्रबार धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले निर्माण गरेको खोप लगाएका एक वृद्धको मृत्यु प्रकरणमा अध्ययन सुरु भएको छ ।
जोन्सन एण्ड जोन्सन खोप लगाएको झण्डै पौने तीन घण्टापछि निलकण्ठ नगरपालिका ६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको थियो । सुनौला बजार स्वास्थ्य केन्द्रमा खोप लगाएर आधा घण्टा आराम गरेर घरमा गएर बेहोस भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पुर्याएपछि उपचारका क्रममा २ः१५ बजे मृत्यु भएको थियो । वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए ।
यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुलेको छैन । मृतकको पोष्टमार्टम रिपोर्ट सहित खोप विज्ञ समूहले अध्ययन गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाएर वा अन्य कुनै कारण मृत्यु भएको भन्नेबारे अध्ययन पछि थाहा भन्न सकिने मन्त्रालयको भनाइ छ ।