सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपाङ्गताका सवालमा काम गर्ने निकाय धेरै, सक्रियता कम

बिहीबार, ०९ कात्तिक २०७४, १३ : २३
बिहीबार, ०९ कात्तिक २०७४

काठमाडाैं-केही महिनाअघि युवा इन्जिनियरको टोलीले विद्युतीय ह्विलचियर ‘लियोपार्ड’ बनाए । युवा टिमले गरेको कार्यको यो एउटा गतिलो उदाहरण थियो । नेपालमा पनि विद्युतीय ह्विलचियर बनाउन सक्ने व्यक्तिहरू रहेको प्रमाण पनि हो यो । दुई वर्षको अध्ययनपछि इन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, प्रजेश श्रेष्ठ र मेनसन लाखेमरुको टिमले यस्तो ह्विल चियर बनाएका हुन् । नेपालमा बनाएको ह्विलचियर विशेषता परम्परागत ह्विल चियरभन्दा नितान्त फरक, सहज अनि सजिलो रहेको  टिमको भनाइ छ । 

यस्तै वैशाखी बनाउने काम नेपालमा पनि नभएको होइन तर स्वास्थ्य विभागको अपाङ्ग एकाइका अनुसार नेपालमा पनि वैशाखी बनाउने काम भइरहेका छन् । वैशाखी बनाउनकै लागि थाइल्यान्डबाट तालिम प्राप्त व्यक्तिहरूले आफ्नै तरिकामा वैशाखी बनाएर बिक्री गरिरहेका छन् । नेपालमा वैशाखी बनाउँदै आएको तालिम प्राप्त व्यक्तिलाई एकै ठाउँमा राखेर सरकारले नै सञ्चालन गर्न सके राम्रो हुने अपाङ्ग एकाइको भनाइ  छ । 

नेपालमा वैशाखी बनाउन सकेको खण्डमा सबै अपाङ्गता भएका व्यक्तिहरूले सहज र सुलभ मूल्यमा वैशाखी किन्न पाउने छन् । नेपाल सरकारले ठूलो स्केलमा सोच्ने हो भने नेपालमा वैशाखी ल्याउनका लागि अरूको देशको भर पर्नुपर्ने जरुरी देखिन्न । 

राष्ट्रिय जनगणना २०६८, अनुसार नेपालको कुल जनसङ्ख्याको दुई प्रतिशत साढे ५ लाख अपाङ्गता भएका व्यक्तिहरू छन् ।  वि.सं. २०७२ मा गएको भूकम्पले नेपालमा ४ हजारभन्दा धेरै अपाङ्गता भएका छन् । 

अपाङ्गता भएका व्यक्तिका सवालमा सरकारी निकाय मात्रै होइन गैरसरकारी निकायहरू पनि सक्रिय छन् । नेपाल सरकारअन्तर्गत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, शान्ति तथा पूर्ण निर्माण मन्त्रालय, सङ्घीय मामिला तथा स्थायीन विकास मन्त्रालय, समाज कल्याण परिषद् र नेपाली सेनाले नेपालको अपाङ्गताको सवालमा हेर्दे आइरहेको छ । 

यस्तै २०७१ को चैत ३० गते स्वास्थ्य मन्त्रालयले कुष्ठरोग महाशाखामा अपाङ्ग एकाइको गठन गरेको छ । अन्य क्षेत्रमा भन्दा अपाङ्गता  भएका व्यक्तिहरूको सवालमा काम गर्ने सरकारी निकायहरू धेरै रहेका छन् । अपाङ्गता व्यक्तिका लागि गर्न ६ वटा सरकारी निकाय हुँदा पनि अझै प्रभावकारी तवरबाट काम हुन नसकेको चाहिँ पक्का हो । अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग गरिने सामग्री निर्माणमा नै चासो देखाएको छैन । यता अपाङ्गता भएका व्यक्तिहरूको पनि मन जित्न सकेको छैन । 

नेपालमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरू धेरै छन् अर्थात् ३६, दृष्टिसम्बन्धी अपाङ्ग १८ प्रतिशत, सुनाइसम्बन्धी अपाङ्गता १५, बोलीसम्बन्धीको अपाङ्गता १२ प्रतिशत, मल्टी अपाङ्गता अर्थात एउटै व्यक्तिलाई धेरै समस्या भएको अपाङ्गता ८ प्रतिशत र मानसिक अपाङ्गता नेपालमा ६ प्रतिशत र बाँकी अन्य अपाङ्गता रहेका छन् । 

(क) वर्गको अपाङ्गतालाई रातो कार्ड प्राप्तपछि मासिक १ हजार भत्ता, (ख) निलो परिचयपत्र पाउने अति अशक्तलाई मासिक रु ३०० सय भत्ताको व्यवस्था गरिएको छ । यस्तै यातायातमा ५० प्रतिशत छुट, जग्गा रजिस्टर गर्दा लाग्ने ट्याक्समा २५ प्रतिशत छुटको व्यवस्था गरिएको भने स्वास्थ्य सेवा पनि निःशुल्कनै हुन्छ । कानुनी सहायताको लागि पनि पैसा नलाग्ने सुविधाको व्यवस्था गरिएको छ । आयमूलक तथा सीपमूलक कार्यक्रममा निःशुल्क सहभागिताको अवसर लगायतका विषयमा सहजता प्रदान गरिँदै आएको छ । 

नेपाल सरकारले माध्यम अपाङ्गता भएका व्यक्तिको लागि (ग) अर्थात पहेँलो कार्डको व्यवस्था गरिएको छ ।  (घ) मा सामान्य अपाङ्गता रहेका व्यक्तिलाई राखिएको छ । (घ) वर्गको लागि सेतो परिचय पत्रको व्यवस्था गरिएको छ । अपाङ्गताको सङ्ख्यामा भने सामान्य अपाङ्गता भएका व्यक्तिहरूनै धेरै रहेका छन् । 

अपाङ्गता भएका व्यक्तिहरूका लागि कानुनी प्रावधान 
अपाङ्गता भएका व्यक्तिप्रति हुने भेदभाव अन्त्य गरी उनीहरूको नागरिक, राजनितिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएको व्यक्तिलाई सशक्तीकरण गरी नीति निर्माणमा सहभागिता गराउनुपर्ने । सम्मानजनक जीवनयापनको वातारवण सुनिश्चित गर्ने सम्बन्धमा अपाङ्गता भएका व्यक्ति अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्नुपर्ने नेपालको संविधानको धारा २९६ (१) बमोजिम व्यवस्थापिका संसदले यो ऐनमा व्यवस्था गरिएको छ । 
  
अपाङ्गतामैत्री छैनन् संरचना 
तर नेपालमा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने विभिन्न संरचनाहरू अपाङ्गमैत्री छैनन् । विद्यालय भवन, शौचालय, सडक, सार्वजनिक भवन लगात प्रायः सबै जसो प्रयोगमा आउने वस्तुमा अपाङ्गतामैत्री देखिँदैन । नयाँ संरचना बनाउँदा अपाङ्गतामैत्री अर्थात् ह्विल चियर गुड्नका लागि सहजन हुने बनाउन सकियो भने अपाङ्गता भएका व्यक्तिहरूका लागि केही मात्रमा भए पनि राहात मिल्ने अपाङ्गसम्बन्धी सङ्घ संस्थाहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप