मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरमा कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच कडा टक्कर : उम्मेदवारका यस्ता छन् सपना

शनिबार, १० असार २०७४, ०७ : १८
शनिबार, १० असार २०७४

बुटवल —मोसफलको राजधानीको रुपमा रहेको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस तथा माओवादी केन्द्रको संयुक्त गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर रहेको छ ।


स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा बुटवलमा एमालेको बर्चस्व तोड्न कांग्रेस माओवादीले संयुक्त उम्मेदवार खडा गरेर एमालेलाई चुनौती दिएको छ भने एमालेले पनि गठबन्धनलाई परास्त गर्ने दावी गरेको छ ।


बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले प्रमुखमा शिवाराज सुवेदी, उपमेयरमा गोमा आर्चायलाई अघि सारेको छ भने संयुक्त गठबन्धनमा नेपाली कांग्रेसले प्रमुखमा खेलराज पाण्डे र उप प्रमुखमा माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई अघि चुनावी मैदानमा खडा गरेको छ ।


१९ वडा रहेको बुटवल उपमहानगरपालिमा ६६ हजार ९० मतदाता रहेका छन् भने निर्वाचनमा लागि २० मतदान स्थल, ७४ मतदान केन्द्र तोकिएको छ ।
बुटवलमा खासगरी पश्चिम पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्गाखाँचीका बासिन्दा र बुटवलमै रैथाने रुपमा बसोबास गर्ने थारु, मधेसी र नेवार समुदायको पनि बाक्लो उपस्थिति छ ।


पहाडबाट झरेका जनताप्रति एमालेको बढी भरोसा रहेको छ भने माओवादी केन्द्र र कांग्रेसका उम्मेद्धवारहरु भने पहाडी समुदायका साथै बुटवलका रैथाने थारु, मधेसी र नेवारहरु जनताप्रति भर परेको स्थानीयहरु बताँउछन् ।


के भन्छन् उम्मेदवारहरु ?


शिवराज सुवेदी, नेकपा एमाले, बुटवल उपनगरपालिकाका प्रमुखको उम्मेदवार


–हामीले बुटवल र लुम्बिनीसँग जोडेर देशको विकास गर्न खोजेका छौँ ।
–तिनाउ नदीको तान्डवलाई बरदानको रुपमा बदल्ने, रिटेनिङ वाल लगाएर सडक बिस्तार गर्ने, अब्यवस्थित बसोबासलाई ब्यवस्थित बनाउने, बुटवल महानगरपालिकालाई ५ नंबर प्रदेशको केन्द्र बनाँउने अभियानलाई अघि बढाँउनेछौँ ।
–अहिलेको सरकार पनि यो प्रदेशलाई टुक्राउन लागेको छ । हामी कुनै पनि हालतमा यो प्रदेश टुक्राउन दिने छैनौँ ।
–बुटवल उपमहानगरपालिकालाई ५, १० र १५ बर्षको गूरुयोजना बनाएर समृद्ध बनाँउनेछौँ ।
–स्थानीय तह अहिले जनताको आधारभूत सेवा दिने संवैधानिक अंग बनेको छ । आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सेवाहरुको सेवा सुविधा बढाउनेछौँ । स्वास्थ विमाको मोडल अगाडि बढाएका छौँ ।
–बुटवललाई देशभरीकै उत्कृष्ट नगर बनाउदै पर्यटन उद्योग र कृषिलाई अघि बढाएर सुखी र समृद्ध बुटवल बनाउने हाम्रो उद्धेश्य हो ।
–भूमीहीन सुकुम्बासीलाई लालपूर्जा दिएर व्यवस्थित बसोबासको ब्यवस्था मिलाँउछौँ ।
–नेपाल र नेपालभन्दा बाहिरका पर्यटकलाई बुटवलमा बसौँ बसौँ लाग्ने उत्कृष्ट नमुना शहर बनाँउने योजना बनाएका छौँ । बुटवल उपनगरपालिकामा रहेका नदीजन्य सामग्रीको दुरुपयोग हुन रोकेका छौँ ।


जगतबहादुर पोखरेल, माओवादी केन्द्र, उपमेयरका उम्मेदवार
–मुलुक सहमती सहकार्य र एकताका साथ अघि बढेकोले स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस एमाले मिलेर अघि बढिरहेका छौं ।
–बुटवललाई स्मार्ट सिटी बनाउने, बुटवलबासीका समस्या समाधान गर्ने, वडा नं. ११ मा रहेका सुकुम्बासीको समस्या हल गरी स्थानीय तहको निर्वाचन लगतै स्थानीय शासन ऐनको प्रयोग गरी व्यवस्थित ढंगले जग्गा वितरण गर्ने ।
–चिनियाँ पर्यटक तान्नका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने, चीनबाट नेपालमा ल्याउने रेल बुटवलसम्म ल्याँउन पहल गर्ने ।
–बुटवलको आर्थिक समृद्धिका लागि स्थानी आवश्यकता अनुसारका विकास निमार्णका योजनालाई अघि बढाउने ।


खेलराज पाण्डे :  नेपाली कांग्रेस मेयरका उम्मेदवार
–बुटवल महानगर सबैको साझा संस्था बन्न सकिरहेको छैन् । बुटवलले अब राजनैतिक नेतृत्वमा विकल्प खोजेको छ ।


–बुटवलले अब परिर्वन खोजेको छ । गिरिजाबाबुले लिएको नीति जस्तै शान्ति, एकता र मेलमिलापको निति लिएर अघि बढ्ने नीति अनुसार नेपाली कांग्रेसको नेर्तृत्व बुटवलका लागि आवश्यक छ ।
–बुटवलको आवश्यकता हेरेर काम गर्ने बाताबरणको विकास गर्ने एजेन्डाका साथ चुनावी मैदानमा आएका छौँ ।
–नेपाली कांग्रेस र माओवादी मिलेर संविधान निमार्ण र स्थानीय तहको निर्वाचन सफल बनाएको हो । त्यसै अनुरुप बुटवललाई समृद्ध बनाँउनका लागि दुबै दलका गठबन्धन बनाएका हौँ ।
–नगरभित्रका सम्पूर्ण समस्या समाधान गर्दै
भूमीहीन सुकुम्बासीलाई तत्काल लालपूर्जा वितरण गने र बुटवललाई देशकै सबैभन्दा समृद्ध शहर बनाउने योजनाका साथ हामी अगाडि बढिरहेका छौँ ।


गोमा आर्चायः नेकपा एमाले, उपप्रमुखका उम्मेदवार
–महिलाहरुको समस्याहरु, हक अधिकारका विषयहरु अझै संवोधन हुन सकिरहेको छ्रैन् ।
–महिलाहरुमा रहेका विवेध हटाँउने मेरो मुख्य योजना रहेको छ ।
–जनताका पीर मर्काको समाधान गर्दै बुटवल उपमहानगरपालिकालाई समृद्ध सफा बनाउने मेरो संकल्प छ ।

रामप्रसाद बञ्जाडे, माओवादी केन्द्र,  जिल्ला इन्चार्ज
बुटबलमा माओवादी— कांग्रेस गठबन्धनले जित्ने पक्का छ । देशमा संविधान, गणतन्त्र माओवादीको जोडबलमा आयो ।  सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउन माओवादी कै भूमिका रह्यो ।   अहिलेका अधिकांश उपलब्धिमा माओवादीकै आन्दोलन र संघर्षको देन हो  । परिवर्तनका मूख्य संवाहकले नजिते कसले जित्छ ?
 


संयुक्त गठबन्धनले जित्ने आधार
बुटवलमा यसअघि नेकपा एमालेले जितेको र अझै पनि एमाले नै जित्ने संभावना भएपछि कमजोर रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त गठबन्धन बनाएका हुन् ।


गठबन्धनले आफूले जित्नका लागि बुटवलका मधेसी, थारु, नेवार लगायतका जनजातीले मत हाल्ने विश्वास लिएका छन् भने विगतमा पनि एमालेले नै जित्ने गरेको, संविधान सभामा पनि विजयी हासिल गरेपछि नगरपालिकामा एमालेले नियुक्त गरेका कर्मचारीहरुको सेवा प्रवाह प्रति जनगुनासो रहेको स्थानीयले बताए ।


साथै बुटवलमा रहेका सुकुम्बासीहरुले पनि गठबन्धनले केही गर्नेमा ढुक्क रहेको माओवादी केन्द्रका उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेलले बताए ।
रुपन्देहीमा बुटवल उपमहानगरपालिका सहित लुम्बिनी सांस्कृतिक नगरपालिका, सिदार्थ नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका गरी ५ वटा नगरपालिका रहेका छन् ।


एमालेको जित्ने आधार
साविक बुटवल नगरपालिकामा दुई गाविस थपेर बुटवल उपमहानगरपालिका बनाइएको हो । साविकका यी तीन निकायमा २०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमाले नै जितेको थियो । साथै संविधान सभाको निर्वाचनमा पनि एमालेले नै यो क्षेत्रमा पकट जमाउदै आएको छ ।

पछिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका विष्णु पौडेल निर्वाचित भएका थिए । बुटवलमा पहाडबाट झरेका समुदायको एमालेतिर आकर्षण रहेको र अघिल्ला निर्वाचनहरुमा पनि एमालेले एकछत्र राज गरेकाले एमालेले जित्ने उनीहरुको दावी छ ।


रातोपाटीले जुटायो एकजुट हुने अवसर
शुक्रबार साँझ बुटवलमा रातोपाटी डटकमको अनलाइन टिभीका लागि कुरा गर्न भेला भएका बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरुले चुनावी हारजित जे भएपनि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

रातोपाटी डटकमका प्रधान सम्पादक ओम शर्मासँगको अन्र्तवार्तापछि उम्मेद्धवाररुले सौहार्द रुपमा चुनाव प्रचार प्रशार गर्ने र चुनावपछि एकजुट भएर नगरको विकासका निम्ति सँगै सहकार्य गर्ने उल्लेख गरे ।



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप