सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसमा सदस्यताको किचलो : चाक्सीबारीदेखि बूढानीलकण्ठसम्म !

देउवा पक्ष र पौडेल पक्षको आ–आफ्नै अडान
बुधबार, २० साउन २०७८, १५ : १८
बुधबार, २० साउन २०७८

नेपाली काँग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउन ढिलाइ हुँदा आगामी भदौ १६ मा गर्ने भनिएको महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । मंगलबार चाक्सीबारीस्थित प्रकाशमानसिंहको निवासमा रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकले अडान नछाड्ने निर्णय गरेको भोलिपल्ट बुधबार (आज) शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शीर्ष नेताहरुको बैठक बस्न लागेको छ ।  

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला सहमहामन्त्री प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाल सम्मिलित उच्चस्तरीय समितिमा विवादबारे सहमति खोज्ने प्रयास जारी रहेको नेताहरुले बताएका छन् । तर, सदस्यता विवाद समाधानबारे देउवा समूह र पौडेल समूहका बेग्लाबेग्लै अडान छन् ।

साउन १४ गतेको पदाधिकारी बैठकले उच्चस्तरीय समितिमा पाँच दिनभित्र विवादित क्रियाशील सदस्यताको समाधान खोज्ने मान्डेट दिएको थियो । तर, आजका मितिसम्म विवाद समाधान हुन सकेको छैन ।

बुधबार सभापति देउवाको निवास बूढानीलकण्ठमा शीर्ष नेताको बैठक बस्न लागेको वरिष्ठ नेता पौडेल रातोपाटीलाई जानकारी दिए । तर, आजको बैठकबाट पनि विवाद टुंगिनेमा नेता पौडेल नै विश्वस्त छैनन् ।

पौडेलले रातोपाटीसँग भने ‘आज बैठक बस्दैछौँ । तर, विवाद टुङ्गिएला जस्तो लाग्दैन । के हुन्छ, हेरौं ।  त्यहाँ सभापतिजीहरु कसरी प्रस्तुत हुन्छन्, आजसम्म ठोस प्रगति भएको छैन ।’

पाँच दिनसम्म बैठक बस्ने र उठ्ने काम मात्र भएको पौडेलको भनाइ छ । किन समाधान खोज्न सक्नुभएको भन्ने प्रश्नमा पौडेलले भने, ‘पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता दिइएको छ, विधि र प्रक्रिया मिचेर पार्टी कब्जा गर्ने प्रयास भएको छ । यसलाई मान्ने कुरा त भएन नि !’

चार तहको सिफारिसबिनै सिधै क्षेत्र र जिल्लाबाटै क्रियाशील सदस्यता इन्ट्री गरिएको पौडेलको गुनासो छ । उनले भने, ‘बारा र सप्तरीमा जिल्ला समिति र क्षेत्रीय समितिले मापदण्डविपरीत क्रियाशील सदस्यता पठाएको छ । त्यसकारण पार्टीले बनाएको मापदण्ड अनुसार वैधानिक तरिकाले क्रियाशील टुंग्याउनुपर्छ । मापदण्ड मिचेर क्रियाशील सदस्यता सदर गर्ने काम हामी मान्दैनौँ ।’

विवाद  समाधान हुन नसके १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशनको प्रक्रिया अगाडि बढाऔं भन्दा देउवा पक्षले नमानेको पौडेलको गुनासो छ । क्रियाशील सदस्यताबारे केन्द्रीय कमिटी बैठकबाट तय गरिएको मापदण्ड लागु गर्ने कुरामा देउवा पक्षले आनाकानी गरेकाले विवाद टुंग्याउन नसकिएको उनले रातोपाटीलाई बताए ।

छानविन समितिलाई बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोक लगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवादमाथि समाधान खोज्न भनिएको थियो । त्यसका लागि नयाँ मापदण्ड बनाउने सहमति भएपनि मापदण्डसमेत तयार हुन सकेको छैन । देउवा र पौडेल पक्षले आफ्नो अडान राखेको अवस्था छ ।

देउवा समूहले समायोजनका नाममा मापदण्ड विपरीत क्रियाशील वितरण गरेको पौडेलले बताए । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफू पक्षीय केन्द्रीय सदस्यको भेला राखेर नेता पौडेलले विवादित नयाँ र समायोजनबाट आएका सदस्यलाई १५ औं महाधिवेशनमा समेट्ने गरी जानुपर्ने समूहगत साझा धारणा बनाएका थिए ।

तर, देउवा पक्षले भने पार्टीको समायोजन समितिले सर्वसम्मत निर्णय गरेको विषयमा पनि पौडेल पक्षले बखेडा झिकेको बताएको छ । नयाँलाई १५ औंमा लिन तयार भए पनि समायोजनबाट आएकालाई १४ औं महाधिवेशनको प्रक्रियाबाट रोक्न नहुने देउवा पक्षको अडान छ ।

मंगलबार सभापति देउवालाई भेटेर उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले महाधिवेशनको मुखमा आएर समायोजनबाट आएका क्रियाशीलमा विवाद गर्नु आपत्तिजनक भएको बताएका थिए ।

समितिले सर्वसम्मतिले गरेको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेपछि अन्य पार्टीबाट आएकालाई क्रियाशील दिइएको उनको भनाइ छ । क्रियाशील सदस्यीय छानविन समितिले समायोजनबाट आएका क्रियाशील सदस्यताका नाममा परेका उजुरीको सुनुवाइ गर्न उच्चस्तरीय समितिलाई जिम्मेवारी सुम्पेको थियो । छानविन समितिले साउन १२ गते सभापति देउवालाई अपुरो प्रतिवेदनमा बुझाएको थियो ।

बारा, पर्सा, सप्तरी, सर्लाही २,  सिन्धुपाल्चोक, रसुवा, धनुषा ४ र टीकापुर कैलाली गरी १३ वटा निर्वाचन क्षेत्रमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताको विवाद यथावत् छ ।

उक्त विषयमा उच्चस्तरीय समितिले पनि समयमा समाधान दिन नसकेपछि काँग्रेस महाधिवेशन थप अन्यौल बनेको छ । भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपनि काँग्रेसले नयाँ कार्यतालिका पनि ल्याउन सकेको छैन ।

उच्चस्तरीय समितिले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएर निर्वाचन समितिलाई दिएपछि कोरोना महामारी र समयको हिसाब–किताब गरी कार्यतालिका ल्याउने काँग्रेस नेताहरुले बताउँदै आएका छ ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सहमतिको अधिकतम प्रयत्न भइरहेको बताए । उनले आज विवाद समाधान गरेर केही दिनमै नयाँ कार्यतालिका ल्याउने गरी काम भइरहेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप