सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कालिमाटीको तरकारी दोब्बर मूल्यमा बेच्छन् व्यापारी

शुक्रबार, १० कात्तिक २०७४, १५ : १९
शुक्रबार, १० कात्तिक २०७४

काठमाडौँ– तरकारी बजारमा हरियो परियो तरकारी किन्ने भन्दा सोधेर फर्कनेहरूको सङ्ख्या धेरै देखिन्छ । रायोको साग पनि सय रुपियाँ किलो परेपछि उपभोक्ताहरू अचम्ममा पर्छन् । योभन्दा त मासु नै सस्तो भन्दै फर्कछन् । हिजोआजकै कुरा गर्ने हो भने स्थानीय काउलीको मूल्य सयदेखि एक सय ५० रुपियाँ प्रतिकिलो पर्ने गरेको छ । बजारमा ब्रोइलर कुखुराको मासु दुई सय ८० रुपियाँ प्रतिकिलो छ । एक किलो काउली आउने पैसाले आधा किलो मासु नै आउँछ भन्दै फर्कन्छन् । चक्रपथ डेरा बताउने ३५ वर्षकी मन्दिरा श्रेष्ठ भन्छिन्– तरकारी किन्नुभन्दा त मासु नै सस्तो । 

राजधानीमा तरकारीको मूल्य बढेको यो नौलो होइन । १२ महिनामा झण्डै ७, ८ महिना त मूल्य आकासिएकै हुन्छ । साउन महिनाको अन्तिम सातादेखि उकालो लागेको तरकारीको भाउ अझै पनि घट्ने छाँटकाँट छैन । साउनको समयमा बाढी, पहिरो र डुबानका कारण तरकारी बारीमा कुहिएको र राजधानीमा ल्याउनका लागि सडक राम्रो नहुँदा भाउ बढेको व्यापारीको भनाइ छ । 

कालिमाटी फलफूल तथा तरकारी विकास समितिलाई जवाफ दिनका लागि यो बाहाना निकै सजिलो भयो । त्यसपछि भदौको केही दिनसम्म तरकारीको मूल्य घटेको महसुस गर्न नपाउँदै । असोजको सुरुवातदेखि तरकारीको भाउ उस्तै रह्यो ।   

अहिले पनि त्यो क्रम जारी छ । कालिमाटीमा स्थानीय काउली ६० देखि ६५ रुपियाँसम्ममा बिक्री गरेको आजको रेकर्ड छ तर यही तरकारी उपभोक्ताले किन्दा एक सयदेखि एक सय ५० भन्दा कममा आउँदैन । अन्य समयमा १५ देखि २० रुपियाँसम्म पर्ने सागको एक मुठा अहिले ३० देखि ५० रुपियाँ तिर्नुपर्ने हुन्छ ।  यता कालिमाटीबाट प्रतिकिलो ६० देखि ६५ रुपियाँमा बिक्री भइरहेको रायोको साग बजारमा किलोको सय रुपियाँ रहेको छ ।   

भान्सामा दैनिक प्रयोग हुने गोलभेँडाको भाउ सुन्ने हो भने ग्राहक नै तर्सन्छन् । कालिमाटीमा  प्रतिकिलो ६० देखि ६५ रुपियाँसम्म पर्ने गोलभेडा अहिले १ सयदेखि एक सय २० रुपियाँ पर्ने गरेको छ । यस्तै ६० देखि ६५ रुपियाँसम्ममा पाइने काँक्राको मूल्य सय रुपियाँ त्योभन्दा कममा भट्नै गाह्रो छ । भान्सामा दैनिक बढीमा प्रयोग हुने गोलभेडा, आलु, साग, काँक्रो, स्थानीय काउलीको मूल्य अन्य समयको भन्दा दोब्बरले बढेको छ । तितेकरेला, घिरौँला, लौकाको पनि मूल्य पनि त्यसै गरी बढेको छ ।  

कालिमाटी तथा फलफूल विकास समितिको मूल्य र बाहिरको तरकारी बजारको मूल्यमा हेर्ने हो भने ४० देखि ५० प्रतिशतभन्दा बढीमा मूल्यमा तरकारी किन्न बाध्य रहेका छन् उपभोक्ता । 

कालिमाटीमा असोज १० गते गोलभेडाको मूल्य प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री भइरहेको थियो भने आज कात्तिक १० गते त्यसको मूल्य बढेर ६० देखि ६५ रुपियाँ पुगेको छ । त्यही गोलभेडा खुद्रा बजारमा एक सयभन्दा बढी छ । कालिमाटीको मूल्य तालिकामा हेर्ने हो भने पनि असोज १६, १७ देखि गोलभेडाको मूल्य आकासिएको देखिन्छ । 

स्थानीय काउलीको मूल्य पनि एक सयदेखि एक सय ५० रुपियाँ पुगेको छ । स्थानीय काउलीको मूल्य तिहारको समयमा निकै बढेको थियो । कात्तिक ४ गतेदेखि ६ गतेसम्म एक सय ५ देखि एक सय ५५ रुपियाँसम्ममा बिक्री भएको थियो । तिहारको त्यो समयमा उपभोक्ताले १८० देखि १९० रुपियाँमा खरिद गरेका थिए । 

काठमाडौँका व्यापारीहरूले कालिमाटीबाट नै तरकारी बिक्रीका लागि लाने गर्छन् ।  तर व्यापारीले कालिमाटीको भन्दा दोब्बर मूल्यमा तरकारी बिक्री गर्छन् । नयाँ आलु प्रतिधार्नी १८० रुपियाँमा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । 

तरकारीको मूल्य वृद्धिबारे कालिमाटी फलफूल विकास समितिका वरिष्ठ बजार सञ्चालक अधिकृत मनोज धितालसँग जानकारी माग्दा खुद्रा बजारमूल्य वृद्धि बारे आफूहरुको क्षेत्राधिकार नरहेको जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप