मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धुर्मुस सुन्तलीले निर्माण गरिरहेको ५० घरको सन्तपुर बस्तीका लागि झन्डै चार करोड अभाव

शुक्रबार, १० कात्तिक २०७४, १५ : ४३
शुक्रबार, १० कात्तिक २०७४

काठमाडौँ । समाजसेवी तथा चर्चित हाँस्यकलाकार जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरिरहेका रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुरको एकीकृत नमुना सन्तपुर बस्तीमा घरको जग हाल्ने काम सुरु भएको छ । हालसम्म बस्तीका १५ घरको जग राख्ने काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । 

धुर्मुसको जन्मदिनको अवसरमा सिलान्यास गरी काम सुरु गरिएको बस्ती १ महिना नबित्दै जग्गा सम्याउने र पर्खाल लगाउने काम सकेर जगको काम समेत शुरु भइसकेको हो । 

नमुना बस्ती ५ करोड ७५ लाख लगानीमा निर्माण गर्ने लक्षका साथ काम थालिएको छ । बस्तिका लागि आवश्यक पर्ने सम्पुर्ण रकम सहयोगी मनहरुबाट संकलन भइरहेको फाउण्डेशनले जानकारी दिएको छ । फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीकाअनुसार हालसम्म २ करोड सहयोग प्राप्त भएको छ ।

प्राप्त रकम मध्ये १ करोड हाराहारी बाढीपीडितलाई राहत वितरणमा सकिएको जनाइएको छ । फाउन्डेसनको खातामा ८० लाख हाराहारी रकम रहेपनि बस्ती निर्माणका लागि ४ करोड रकम आवश्यक पर्ने फाउन्डेसनले जनाएको छ ।

माघ २४ गते बस्ती हस्तान्तरण गर्ने उद्धेश्यका साथ काम अघि बढाएपनि अझै धेरै सहयोग संकलन हुन बाँकी रहेको फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरेले जानकारी दिइन् ।  सहयोग संकलनका बारेमा चिन्ता लागेपनि शुरु गरेको योजना पूरा हुने कुरामा उनको विश्वास छ । उनी भन्छिन्, ‘हाम्रा हरेक परियोजना सहयोगीहरुकै कारण निर्माण सम्पन्न भएका हुन्, उहाँहरु बिना त हामी अधुरो छौं । सबै सहयोगी मनहरुले हामीले सहयोग गर्नुपर्छ भनेर सहयोग दिनुभयो भने हामीलाई सहयोग संकलन गर्न गाह्रो हुँदैन् र सबैलाई बस्ती निर्माणमा सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु ।’ 

एकीकृत नमुना सन्तपुर बस्तीमा ५० वटा आवासीय घरहरु सहित एउटा सामुदायिक भवन, सार्बजनिक धाराहरु, सौचालय, मन्दिर, बस्ती अवलोकनका लागि भ्यु टावर सहितको कम्पाउण्डले घेरिएको एउटा अर्थपूर्ण बस्ती बन्नेछ । फाउण्डेशनका परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेका अनुसार एउटा घरको लागत १० लाख लाग्ने अनुमान गरिएको छ भने बस्तीमा दुई तले घर निर्माण हुनेछ । एउटा घर लगभग साँढे ३ धुर जग्गामा निर्माण हुनेछ । घर पुर्ण रुपमा भुकम्प प्रतिरोधी, बाल मैत्री, अपाङ्ग मैत्री र बातावरण मैत्री हुने फाउन्डेसनले जनाएको छ । 

यस्तो छ धुर्मुसको दैनिकी 

सीताराम कट्टेल धुर्मुस हरके बिहान ६ बजे स्थानीयसँगै घर निर्माणस्थलमा उपस्थित भईसक्नछन् । राती करिब ७ देखि ८ बजेसम्म निरन्तर काम गर्ने गरेका छन् । उनी रकेटको गतिले काम गर्नुपर्छ भन्दै स्थानीयसँग खटिरहेका छन् । जुनियर ईन्जिनियर किशोर बर्माका अनुसार अब करिव १५ देखि २० दिनमा जगको काम सकिएर घर निर्माणको काम सुरु हुनेछ । बस्ती निर्माण छिटो र सहज हुनुको कारण बस्तीका स्थानीय बासीहरु र सहयोगीहरुनै मुख्य हुन् । स्थानीयले हाम्रो घर बन्दैछ भनेर सोचिदिँदा र त्यहाँका अरु स्थानीयले पनि हाम्रै छिमेकीको छर बन्दैछ भनेर देखाउने भाईचारा र सहयोगी भावनाले बस्ती निर्माण द्रुत गतिमा अगाढी बढिरहेको फाउण्डेशनका परियोजना ब्यवस्थापक अर्जुन न्यौपाने बताउँछन् । 

बस्तीमा बसोवास गर्ने स्थानीयहरुको बानी व्यवहार र बोलिचालिको भाषा समेत धुर्मुस सुन्तली गएपछि नितान्त परिवर्तन भएको छ । बस्ती हेर्न जाने पर्यटकहरुलाई उनीहरुले गर्ने सत्कार र सम्मानमा बिल्कुलै परिवर्तन आएको छ । कोही नयाँ मान्छे आफ्नो स्थानमा आउँदा उनीहरु हाँसेरै बोल्छन् । पहिले राम्रो संग नबोल्ने, बोल्न डर मान्ने, नयाँ मान्छेसंग छिट्टै नखुल्ने स्थानीय बासीहरु अहिले मज्जाले खुलेर बोल्छन् । बस्तीका स्कुल नजाने बालवालिकाहरु स्कुल जान थालेका छन् । सरसफाई र खानपिनमा निकै ख्याल गर्न थालेका छन् । 

यसअघि पनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकीकृत नमुना मुसहर बस्ती करिव ३ महिनाको अवधीमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको थियो । धुर्मुस सुन्तली फाउण्डेसनले भुकम्प पछि पुनर्निर्माण र दुःखी, पिडित तथा असाहायहरुका लागि काम गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप