सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : मुख्यमन्त्रीमाथि सांसद अपहरणको आरोप, ओलीको नीति उल्टाउँदै देउवा

बिहीबार, २१ साउन २०७८, २१ : ०९
बिहीबार, २१ साउन २०७८

आज २०७८ साउन २१ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद अपहरणको बात लाग्यो, यथास्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने माधवकुमार नेपालको ठहर, ओलीको नीति उल्टाएर ‘कोर्ष करेक्सन’ गर्दै देउवा सरकार, काँग्रेसमा विशेष महाधिवेशनको बहस, साउदी अरबबाट भरियामार्फत ल्याइएको आधा किलो सुनसहित दुईजना पक्राउ, एक लाख ऋण मिनाहाका लागि प्रहरीको शान्ति मिसनको  प्रश्नपत्र लिक लगायत छन् ।

१. शंकर पोखरेलमाथि अपहरणको बात, विशेष अधिवेशन आह्वानसँगै ‘काउन्ट डाउन’ सुरु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि प्रदेशसभा सदस्य अपहरणको बात लागेको छ । प्रदेशसभा सदस्य विमला वलीले आफूलाई घरबाट जबर्जस्ती बुटवल ल्याएर पाँच दिनसम्म मुख्यमन्त्री पोखरेलको निवासमा बन्धक बनाइएको खुलासा बिहीबार गरेकी हुन् । उनले आफू नेकपा माओवादी केन्द्रमै रहेको र मुख्यमन्त्री निवासमा जबर्जस्ती राखेर एमालेमा रहेको भन्ने व्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको आरोपसमेत लगाएकी छन् । यसैबीच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरी प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन दिएका थिए ।

 


२. केन्द्रीय सदस्यहरुलाई माधव नेपालको ब्रिफिङ– ओलीसँग मिसिनु राजनीतिक आत्महत्या

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नभएसम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने जनाएका छन् । आफू पक्षीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आफू पनि पार्टी एकताकै पक्षमा रहेको तर एकता सम्मानजनक हुनुपर्ने प्रस्ट पारे । केन्द्रीय कमिटी बैठक अघि सो पक्षको स्थायी कमिटी बैठकसमेत बसेको थियो ।

३. ओलीको नीति उल्टाएर ‘कोर्ष करेक्सन’ गर्दै देउवा सरकार

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका कतिपय नीतिलाई उल्टाएर ‘कोर्ष करेक्सन’ गर्नेगरी खाका तयार पारेको छ । जसअनुसार नेपाल वायु सेवा निगम सरकार आफैले सञ्चालन गर्ने, संविधान संशोधनका लागि उच्चस्तरीय सुझाव आयोग गठन गर्ने, आगामी चुनावमा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदाता बनाउने, प्रत्यक्ष निर्वाचनमा महिलालाई ३३ प्रतिशत सिट आरक्षण गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायत छन् । सत्ता पक्षीय गठबन्धनका तर्फबाट कार्यदलले ड्राफ्ट गरेको साझा न्यूनतम कार्यक्रममा यी विषय समेटिएका हुन् । यद्यपि सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद विस्तार हुन नसकेको विषयलाई लिएर कतिपयले सत्तारुढ गठबन्धनमा खटपट भएको त होइन भनेर आशंकासमेत गरिरहेका छन् ।

४. आयोग खारेजको विरोधमा सुकुम्बासीको प्रदर्शन

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा भूमिहीन सुकुम्बासीहरु आन्दोलित भएका छन् । बिहीबार राजधानीमा एमाले निकट युवा संघको अगुवाईमा भूमिहीनहरुले विरोध प्रदर्शन गरेका हुन् । एमाले नेतृ शान्ता चौधरी अध्यक्ष रहेको भूमिहीन सुकुम्बासी संगठनले समेत आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

५. काँग्रेसमा विशेष महाधिवेशनको बहस, निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षका युवा नेताको दबाब

नेपाली काँग्रेसमा विशेष महाधिवेशनबारे बहस हुन थालेको छ । निर्धारित मितिमा १४ औं महाधिवेशन हुनेमा आशंका बढिरहेको समयमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले विशेष महाधिवेशनको बहस सतहमा ल्याएका हुन् । तर महामन्त्री डा. शशांक कोइराला भने विशेष महाधिवेशन आवश्यक नरहेको बताउँछन् । यसैबीच पौडेल पक्षका युवा नेताले भने निर्धारित मितिमै महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् । जततउकस्ररचबतयउबतष्।

६. अलग भएकालाई पार्टीमै बोलाउँदै उपेन्द्र यादव, महन्थ भने ‘भण्डाफोर’ गर्न जिल्लातिर

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाएका उपेन्द्र यादवले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । तर महन्थ ठाकुर पक्ष भने उपेन्द्र यादवको ‘भण्डाफोर’ गर्न भन्दै मधेसका विभिन्न जिल्ला केन्द्रित कार्यक्रम घोषणा गर्दै त्यसको तयारीमा जुटेको छ ।

७. साउदी अरबबाट भरियामार्फत ल्याइएको आधा किलो सुनसहित दुईजना पक्राउ

साउदी अरबबाट भरियामार्फत काठमाडौं ल्याइएको करिब आधा किलो सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जजिरा एयरलाइन्सको उडानमार्फत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विभिन्न व्यक्तिलाई भरिया बनाएर उक्त परिमाणको सुन ल्याइएको हो ।

८. एक लाख ऋण मिनाहाका लागि प्रहरीको शान्ति मिसनको  प्रश्नपत्र लिक !

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र लिकबारे नयाँ खुलासा भएको छ । प्रश्नपत्र लिक भएको घटनाबारे छानबिन गर्न गठित समितिले शंकास्पदहरुसँग बयान लिने क्रममा प्रहरी हवल्दार कुमार शाहले कार्यालय सहयोगी सुरेश बममार्फत प्रश्नपत्र लिक गरेको खुलासा भएको हो । सुरेशले हवल्दार कुमारसँग एक लाख रुपैयाँ ऋण लिएको र प्रश्नपत्र लिक गरेबापत उक्त ऋण मिनाहा हुने भएपछि उक्त कार्यमा संलग्न भएको बयान दिएका छन् ।

९. दुई दिन लगातार उछाल आएको नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट

मंगलबार र बुधबार लगातार उछाल आएको नेपाली सेयर बजारमा बिहीबार भने दोहोरो अंकको गिरावट आएको छ । मंगलबार २६.०२ अंकले बढेर ३ हजार १११.०९ बिन्दुमा र बुधबार १२.०५ अंकले बढेर ३ हजार १२३.१४ बिन्दुमा पुगेको नेप्से बिहीबार १६ अंकले घटेर ३ हजार १०७.४५ बिन्दुमा झरेको हो ।

१०. तीन हजार ९३८ संक्रमित थपिए

देशभर पछिल्लो २४ घण्टामा तीन हजार ९३८ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । सो अवधिमा देशभर कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ भने २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । यसैबीच सरकारले हालसम्म नेपालको कुल जनसंख्याको १३.५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ ।

११. र यो पनि,

बागमती प्रदेशमा सरकार पुनर्गठनका लागि नेकपा एमालेको माधवकुमार नेपाल पक्षले दबाब बढाएको छ । ओली पक्षले भने तत्काल सरकार पुनर्गठनको सम्भावना नरहेको बताएको छ ।


जाजरकोटको जुनीचाँदी गाउँपालिका–२ का वडाअध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय युवकलाई डोरीले बाँधेर उनले कुटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।


नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले राजीनामा दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप