मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिको चुनावी घोषणापत्र: काठमाडौदेखि सगरमाथासम्म केवलकार

शुक्रबार, १० कात्तिक २०७४, १८ : ३५
शुक्रबार, १० कात्तिक २०७४

काठमाडौं– ‘सबैका लागि समृद्धि’ भन्ने नाराका साथ आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा डा.भट्टराईले शुरुमै आगामी निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने पहिलो दल बन्न पाएकोमा गौरवान्वित भएको उल्लेख गरे ।  

नयाँ शक्तिको विचारधाराः बाम–लोकतान्त्रिक

कार्यक्रममा डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको बिचारधारा बाम–लोकतान्त्रिक हुने स्पष्ट पारेका छन् । यसको अन्तिम गन्तब्य भनेको समुन्नत खालको समाजवाद हुने उनको भनाई छ । राज्य सञ्चालन जनताले प्रत्यक्ष चुनेको ब्यक्तिबाट हुने पार्टीको अवधारणा हुने उनले बताए । कसैले लादेको जनवाद र नवउदारवाद नभई जनताको प्रत्यक्ष सहभागिता रहने नयाँ किसिमको जनवाद रहेको उनको भनाई छ । 

कम्युनिष्ट र कांग्रेसले नेतृत्व गरेको भन्दा पनि उन्नत खालको बाम लोकतान्त्रिक धार निर्माण गरेर अघि बढ्ने पार्टीको अवधारणा रहेको उनले बताए । 
विकास र समृद्धि मुख्य लक्ष्य भएको बताउँदै उनले राज्य संचालनका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले मात्र देशलाई स्थिरता दिने भन्दै भट्टराईले नेपालमा सुशासन नभई विकास सम्भव नभएकोले सुुशासन र सदाचारलाई मुख्य मुद्दा बनाएको बताए । 

नेपालको विकासका लागि भारत र चीनबीच गतिशील पुलको रुपमा बिस्तार गर्ने अवधारणलाई पनि पार्टीले अघि सारेको उनले बताए । देशमा रहेको गरिबी र बेरोजगारीलाई अन्त्य गरेर हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउँने पार्टीको लक्ष्य रहेको उनले बताए । 
 

विकासका चार आयाम 

कार्यक्रम विकासबारे नयाँ शक्तिको चार आयाम रहेको डा. बाबुराम भट्टराईले बताए । नयाँ शक्तिले विकासलाई पहिलो भौतिक विकास, दोश्रो न्यायपूर्ण वितरण, तेश्रो पर्यावरणीय संरक्षण र दिगो विकास र चौथो विकासबाट मानिसले पाउने खुसी अर्थात मानसिक सन्तुष्टिलाई आधार बनाएको छ । अरुले भन्ने गरेको विकास भन्दा अयाँ शक्तिले अघि सारेको विकासको अवधारण फरक रहेको भट्टराईले बताए । 

२५ वर्षमा समुन्नत देश: हवाईजहाज उडेजस्तो विकास

पाँच वर्षभित्र गरिबीको निरपेक्ष अन्तय गर्ने, १५ वर्षभित्र मध्यमस्तरमा पु¥याउने र २५ वर्षभित्र संसारको सबैभन्दा समुन्नत देश बनाउँने पार्टीले लक्ष्य लिएको छ । क्रमिक रुपमा घस्रने खालको विकास भन्दा पनि २ अंकको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य भयो भनेमात्र विकासले गति लिने भट्टराईको भनाई छ । उनले बस गुड्ने जस्तो विकास नभएर हवाइजहाज उड््नेजस्तो विकासलाई जोड दिने पार्टीको अवधारणा रहेको बताए । यसका लागि दुई दशकभित्र २ अंकको आर्थिक विकास हुने योजनाका कुरा गरेको बताए । 

सात प्रदेशका मुख्य योजना 

देश संघीय ढाँचामा गइसकेकोले प्रदेशका विषेशका आधारमा पार्टीले प्रदेशका मुख्य योजनाहरु अघि सारेको उल्लेख गरे । नयाँ शक्तिको घोषणापत्रमा प्रदेश नं. १ मा १३ योजना, २ मा १५ योजना, ३ मा ७ योजना, ४ मा १० योजना,  ५ मा  १० योजना, ६ मा १७ योजना र ७ मा १३ बिषेश योजना बनाएको छ । घोषणापत्र पञ्चवर्षीय योजना नभई दीशाबोध गराउने सामग्री भएको उनले स्पष्ट पारे । 
 

यस्तो छ घोषणापत्र   

३९ पृष्ठ रहेको नयाँ शक्तिको घोषणापत्रमा ४ खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा विचार र राजनीतिक, दोश्रो खण्डमा आर्थिक विकास र समृद्धी, तेश्रो खण्डमा लोकतन्त्रको समृद्धिकरण र सुशासन र चौथो खण्डमा अपिल राखिएको छ । घोषणा पत्रमा अन्य राजनीतिक शक्तिबारे समर्थन वा बिरोधबारे बोलिएको छैन भने संघर्षका क्रममा भएका शहीद परिवार, घाइतेका लागि विभिन्न कार्यक्रमहरु उल्लेख गरिएको छ । भूकम्पप्रभावितलाई पनि घोषणापत्रमा संबोधन गरिएको छ । 

संघीय योजनाः काठमाडौंदेखि सगरमाथासम्म केवलकार

घोषणापत्रमा आर्थिक विकास तथा समृद्धिका योजनाहरु अन्र्तगत संघीयस्तरबाट गरिने रणनीतिक महत्वका योजनामा ऊर्जा, सडक, रेलमार्ग, हवाई तथा जलमार्ग, केबलकार, हिमाली बृहत पदमार्ग, सिंचाई, विशेष औद्योगिक क्षेत्र, खानी उद्योग, वातावरण संरक्षण, विज्ञान, प्रविधि तथा अन्वेषण, खेलकुद, भू–उपग्रहसम्मका योजना समावेश गरिएका छन् । 

रेलमार्गतर्फ काठमाडौं वीरगञ्ज रेलमार्ग, पूर्व पश्चिम मेची महाकाली चल्ने तराई र पहाडमा दुई रेलमार्गको कल्पना गरिएको छ भने सडकतर्फ ६ लेनको मेचीकाली लोकमार्ग, चीन र भारत जोड्ने चार लेनका ४ वटा उत्तर दक्षिण जोड्ने सडकको कल्पना गरिएको छ । 

यस्तै, केवलकारतर्फ काठमाडौ देखि सगरमाथा बेस क्याम्पसम्म केवलकारको कल्पना गरिएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप