बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नारीवाद जिन्दावाद ! (कविता)

शनिबार, २३ साउन २०७८, १४ : ४९
शनिबार, २३ साउन २०७८

ए !
हाम्रो पहिरनमा अङ्कुश लगाउन खोज्नेहरू हो,
हाम्रा लवजमा मधुरता, सीमितता खोज्नेहरू हो ।
ए !
समानता र सशक्तीकरणका भजन गाउनेहरू हो,
कहिले बारमा, कहिले हाम्रा हारमा 
हामीलाई मदहोसीको मिठाई चखाउँदै
ढोँगी नाच नाच्ने बहानामा 
हाम्रा शरीरका अङ्गलाई 
वधशालामा बेच्न राखिएको मासुको भागझैँ
मूल्य तोक्न खोज्नेहरु हो ।
ए !
कामका बाहनामा 
आफ्नो कामवासना पूरा गर्न 
हामीसँग यौनक्रीडा गर्न तम्तयार भएका
मान्छेका मुकुटधारी नरपिशाच हो ।
ए !
महिलालाई भान्साको चार कुरामा कैद गरी 
बाहिरी संसारको सुगन्धसम्म पस्न नदिने,
दुर्गन्धित शोषकवर्ग हो । 
ए !
तिरस्कार सहन गर्न नसकी 
चेहराको रङ्ग बदल्न एसिडको सहारा लिने 
कमजोर मानसिकताका रोगीहरु हो ।


जब तिम्रो निरङ्कुशताले,
तिम्रो नियमहरूको सर्वोच्चताले 
तिम्रो समाजहरुको उग्रगन्धताले 
बन्धनको सीमा नाघ्ने प्रयास गर्दछ
तब हरेक नारी सीताको रूपधारी 
नग्न उभिने छन् अग्निपरीक्षाका लागि 

भत्किने छन् बाँधहरू 
जसमा दोहन हुनेछ तिम्रो 
स्थायित्व, स्वामित्व र अस्तित्वको धरोहरहरु ।
भासिने छन्
ती सब, सीताले फटाएको धर्तीमा 
र 
त्यसभित्रबाट गुन्जिनेछ एउटा नारा 
‘नारीवाद जिन्दावाद !’ 

काँडाघारी, काठमाडौँ
सिभिल इन्जिनियरिङ दोस्रो वर्ष, पुल्चोक क्याम्पस ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सोमनाथ लुँइटेल
सोमनाथ लुँइटेल
लेखकबाट थप