सुरु भयो मास्क अभियान : नवनिर्मित धरहरालाई मास्क ! (तस्बिरहरु)
शनिबारदेखि मास्क एक हप्ते मास्क अभियान सुरु भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता लामो मास्क अभियान सुरु गरेको हो ।
अभियान राजधानीको नवनिर्मित धरहराबाट सुरु गरिएको हो। धरहरामा प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको थियो।
कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको अवस्थामा मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ अभियान सुरु गर्न लागिएको हो ।
अभियानबारे धरहरामा शनिबार साँझ मास्क सहित ‘नेपाल मास्क अभियान, म जिम्मेवार नेपाली’ #मजिम्मेवारनेपाली नारा देखाइएको थियो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन् ।
अभियानबारे उनले दिएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताए । उनले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरे ।