सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक, एमालेमा एकताको सम्भावना खोजिँदै

आइतबार, २४ साउन २०७८, २१ : ०१
आइतबार, २४ साउन २०७८

आज २०७८ साउन २४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक, प्रधानमन्त्रीमाथि एमाले फुटाउन खोजेको आरोप, भूमि सम्बन्धी आयोग खारेजीका विरुद्ध चारवटा रिट निवेदन, एमालेको विघटित कार्यदलका सदस्यहरु पार्टी एकताको सम्भावना खोज्दै, डीडीसीले बेच्यो म्याद सकिएको घिउ, सैनिक ब्यारेकबाट चोरिएको हतियार प्रयोग गरी सेनाका हुद्दाको हत्या, ओली सरकारको नीति तथा कार्यक्रममा भएका विषय बजेटमा गायब, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विरुद्धको रिट निवेदन दरपीठ, कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु लगायत छन् ।

१. सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक
सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै गठबन्धन सरकारको प्राथमिकता, नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरिएको हो । सरकारको नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण उत्पन्न परिस्थितिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको सम्वर्द्धन, संघीयता कार्यान्वयनको सवाल, शान्ति सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण लगायत छन् । 

 

२. राष्ट्रियसभा : प्रधानमन्त्रीमाथि एमाले फुटाउन खोजेको आरोप, वामदेवले खोजे जग्गाको हिसाब
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीमाथि एमाले फुटाउन खोजेको आरोप लगाइएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेकी सांसद विमला राई पौडेलले एमाले फुटाएर मात्र प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न खोजेको आरोप लगाएकी हुन् । बैठकमा सांसद नन्दा चपाईले निःशुल्क पाइने औषधिको सूची आम जनताले थाहा पाउने गरी सार्वजनिक गर्न सरकारसँग माग गरिन् ।

यस्तै, सांसद डा. खिमलाल देवकोटाले मन्त्री र सचिवले गोप्य कोठामा बसेर गर्ने काम कारवाहीको विषयमा प्रश्न गर्दै त्यस्तो कोठामा सिसी क्यामेरा देखिने गरी राख्न माग गरेका छन् । एमाले उपाध्यक्षसमेत रहेका सांसद वामदेव गौतमले भने विघटित भूमि आयोगको प्रक्षेपणलाई आधार मान्दा भूमिहीन सुकुम्बासीलाई वितरण गर्न चार लाख हेक्टर जमिन आवश्यक पर्ने देखिएको भन्दै उक्त जमिन कहाँबाट प्राप्त हुन्छ भन्ने प्रश्न गरे । 

 

३. भूमिसम्बन्धी आयोग खारेजीका विरुद्ध सर्वोच्चमा चारवटा रिट निवेदन
सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा चारवटा रिट निवेदन दर्ता भएको छ । विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहित चार जनाले रिट निवेदन दायर गरेका हुन् । निवेदकहरुले आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गरेका छन् ।

 


४. डीडीसीले बेच्यो म्याद सकिएको घिउ
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले म्याद गुज्रिएको घिउ बिक्री वितरण गरेको पाइएको छ । पोखराको सुजल डेरीबाट ल्याएर गोदाममा राखेको घिउको उपभोग्य मिति गुज्रिसकेको अवस्थामा समेत डीडीसीले नेपाली बजार र जापानमा विक्री वितरण गरेको पाइएको हो । सरोकारवाला विभिन्न निकायले दिएको निर्देशनविपरीत उक्त घिउ बेचिएको हो ।

 

५. एमालेको विघटित कार्यदलका सदस्यहरु पार्टी एकताको सम्भावना खोज्दै
नेकपा एमालेको विघटित कार्यदलका सदस्यहरु पार्टी एकताको सम्भावना खोजिरहेका छन् । आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक गृहकार्य नपुगेको भन्दै सोमबारका लागि सारेपछि विघटित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् । आइतबार बस्ने भनिएको बैठक माधवकुमार नेपाल पक्षको समेत आग्रहमा सोमबारका लागि सारिएको बताइएको छ । 

 

६. सैनिक ब्यारेकबाटै चोरिएको हतियारबाट सेनाका हुद्दाको हत्या
चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा सेनाकै ब्यारेकबाट चोरी भएको हतियार प्रयोग भएको तथ्य प्रकाशमा आएको छ । भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा नहरमा साउन ७ गते गुरुङको शव फेला परेको थियो । उनलाई सैनिक जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

७. ओली सरकारको नीति तथा कार्यक्रममा भएका विषय बजेटमा गायब
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नीति तथा कार्यक्रममा समेटेका कतिपय विषय बजेटमा भने गायब भएको तथ्य प्रकाशमा आएको छ । आइतबार संसदको विकास तथा प्रविधि समितिले युटिलिटी करिडोरबारे मन्त्रालयका पदाधिकारीसँग गरेको छलफलमा यो तथ्य प्रकाशमा आएको हो । मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले महत्त्वपूर्ण योजनाहरु नीति तथा कार्यक्रममा समेटिए पनि त्यसका लागि बजेट भने नछुट्याएको जानकारी दिए ।

८. सीमा क्षेत्रमा पाँच सय बीओपी राख्ने सरकारको योजना
गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको ५ सय बीओपी राख्ने योजना रहेको बताएका छन् । सशस्त्र प्रहरीकै एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बललाई थप साधन स्रोत सम्पन्न बनाउने प्रतिबद्धता पनि जनाए ।


९. मेलम्ची लगायतका बाढी पीडितलाई राहतका लागि तीव्रता दिनुपर्नेमा प्रचण्डको जोड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको मेलम्ची र आसपासका क्षेत्रका बाढी पीडितलाई राहत दिने कामलाई सरकारले तीव्रता दिनुपर्नेमा जोड दिएका छन् । आइतबार आफ्नै निवासमा आइपुगेका बाढी पीडितहरुसँगको भेटमा उनले सिन्धुपाल्चोक जिल्लालाई संकटग्रस्त घोषणा गरे पनि त्यसअनुसारको कामलाई भने सरकारले तीव्रता दिन नसकेको बताए ।

१०. कोरोना भाइरसबाट एकै दिन ५५ जनाको मृत्यु
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक आइतबार सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा ५५ जनाको मृत्यु भएको जनाएको हो । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५४८ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । सो अवधिमा दुई हजार १९ जना संक्रमणमुक्त भएका छन् । 

११. लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । रिट निवेदन लिएर सम्बन्धित पक्ष नआएको र हकदैया समेतको अभाव देखिएको भन्दै सर्वोच्चले रिट निवेदन दरपीठ गरेको हो । यसैबीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भने संवैधानिक व्यवस्था अनुसार नै आफूले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको जिकिर गरेका छन् ।

१२. र यो पनि,
नेपाल चलचित्र कलाकार संघको संयोजनमा कलाकारहरुले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छन् । आइतबार बिहानदेखि कलाकारहरुलाई भेरोसेल खोप लगाउन थालिएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सामाजिक सञ्जालमा आफ्नो मृत्युको विवरण उल्लेख गरी अफवाह फैलाउनेविरुद्ध कानुनी उपचार खोजिएको बताएका छन् । 

जातीय विभेद र छुवाछुत विरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप