सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कविता : देवकोटा बा

सोमबार, २५ साउन २०७८, १४ : ४८
सोमबार, २५ साउन २०७८

बा, के गर्नुपर्छ

हजुरको जस्तै कविता लेख्न ?

बा के भनिदिनुस् न के गर्नुपर्छ

हजुरले नलेखेको कविता लेख्न ?

 

भृकुटीमण्डपबाट लामा–लामा

पाइला सराउँदै

मैतीदेवी पुगेको म

मेरो कानमा गुन्जिरहेको थियो

काकाको आवाज

र नाचिरहेको थियो आँखाहरूमा

स्कूल पढ्ने बेलामा देखेको

हजुरको एक थान तस्वीर

मैले स्पष्ट बुझिन्

कानमा गुञ्जिरहेको काकाको आवाज

त्यो आवाजमा धुक् धुक् हुँदै थियो

देवकोटा जस्तै कविको खोजी ।

 

म गएको थिएँ

त्यो घरका भित्ताहरूमा

हजुरका हत्केलाका छाप हेर्ने आशामा

तर, अपसोच !

घरको मूलढोकामै

लगाएको थियो कालो एक ताला ।

 

बा, कुनै न कुनै रुपमा त

पक्का छ हाम्रो सम्बन्ध

बालाई भेट्न नपाए पनि

हजुरका हत्केलाले छोएको भित्तालाई छोएर

कविता लेखूँला सोचे

अपसोच 

हजुरका हत्केलाले छोएको भित्तालाई

छुन नपाउँदै

ती भित्ताहरु भत्काइदियो

विकास बहादुरले ।

 

कवितै कविताका इँटाहरूले बनेको

त्यो घर

अब घर हैन, सङ्ग्रहालय रे

बाँची रहेको त्यो घर

त्यो घरलाई बुढो भयो भनेर भत्काइयो रे

जीवनमा पहिलो पटक थाहा पाए

बुढो हुँदो रहेछ कविताको घर पनि

मलाई शंका लागिरहेछ

घर बुढो भयो भनेर भत्काए जस्तै

कतै बुढा भएर भनेर बाका कविता पनि भत्काइने त हैनन् ?

 
बा मलाई हजुरका हत्केलाले छोएको

माटो छुन मन छ

ठूलो आशा थियो मनमा

हजुरका हत्केलाले छोएको माटोलाई

छुन नपाए पनि

हजुरको हत्केलाले छोएको भित्तोलाई छुने

र घरसँग साइनो लगाउने

अपसोच !

मैले भित्तो छुन नपाउँदै

भित्तो बुढो भनेर भत्काइदियो

विकास बहादुरले ।

 

बा हजुर नै बसेको

कवितै कविताले बनेको

कविताको घरसँग त

मैले साइनो जोड्न सकिनँ

विकासबहादुर बनाउने

सङ्ग्रहालयसँग

म कसरी साइनो जोडूँ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उमेश अवस्थी आदर्श
उमेश अवस्थी आदर्श
लेखकबाट थप