सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ: सिंगौरी खेल्न आए सिङ भाँचिने ओलीको चेतावनी, अध्यक्षबाट हटाइए महन्थ ठाकुर

सोमबार, २५ साउन २०७८, २० : ५३
सोमबार, २५ साउन २०७८

आज २०७८ साउन २५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा सबै तहका कर्मचारीका लागि नयाँ तलबमान, सिंगौरी खेल्न आए सिङ भाँचिने ओलीको चेतावनी, भदौ १ सम्मका लागि ब्यूँतियो भूमिसम्बन्धी आयोग, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विरुद्ध रिट निवेदन दर्ता, जसपा नेपालको अध्यक्षबाट हटाइए महन्थ ठाकुर, लुम्बिनी प्रदेशका तीन जसपाका सांसदमाथि कारवाही यथावत् लगायत छन् ।

१. मन्त्रिपरिषद बैठक : सबै तहका कर्मचारीका लागि नयाँ तलबमान
सरकारले सबै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको हो । बैठकले सरकारका केही सचिवको सरुवा समेत गरेको छ । मन्त्रिपरिषद बैठकमा विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव लगिए पनि केही प्रक्रिया पूरा गर्नुपर्ने भन्दै सोमबार यसबारे निर्णय हुन सकेन ।

२. एमाले बैठकमा ओलीको चेतावनी– सिंगौरी खेल्न आए सिङ भाँचिन्छ
प्रमुख प्रतिपक्ष नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार सुरु भएको छ । माधवकुमार नेपालको अनुपस्थितिमै बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सिंगौरी खेल्न आए सिङ भाँचिने चेतावनी दिए । उनको यो चेतावनी सरकारप्रति लक्षित थियो । ओलीले एमसीसी सम्झौता संशोधनसहित पारित गर्नुपर्ने बताए । उनले सरकारको साझा न्यूनतम कार्यक्रम गाली गलौजको पुलिन्दा भएको टिप्पणीसमेत गरे । उनले माधवकुमार नेपालप्रति लक्षित गर्दै प्रचण्डसँग मिलेर पार्टीलाई ध्वस्त बनाएको र शेरबहादुर देउवासँग मिलेर सरकार ढालेको आरोपसमेत लगाए । त्यसअघि सोमबारै बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका थिए । स्थायी कमिटी बैठकले एमालेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

३. भदौ १ सम्मका लागि ब्यूँतियो भूमिसम्बन्धी आयोग
सर्वोच्च अदालतले भदौ १ सम्मका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगलाई ब्यूँताएको छ । आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा दायर भएका रिट निवेदनमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले छलफलका लागि भदौ १ गते दुवै पक्षलाई बोलाएको छ । त्यतिन्जेलसम्मका लागि आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन इजलासले अन्तरकालीन अन्तरिम आदेश दिएको हो ।

४. लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विरुद्ध सर्वोच्चमा रिट निवेदन
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद लीला गिरीले रिट निवेदन दर्ता गराएका हुन् । गत वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार गठन भएको भन्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने रिट निवेदकको जिकिर छ । 


५. जसपा नेपालको अध्यक्षबाट हटाइए महन्थ ठाकुर
जसपा नेपालको अध्यक्षबाट महन्थ ठाकुरलाई हटाइएको छ । सोमबार जसपाको ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्दै निर्वाचन आयोगले पार्टीका तर्फबाट आयोगलाई पठाइएको विवरणअनुसार दर्ता किताबमा अध्यावधिक गरेको हो । 


६. के होला माधवकुमार नेपाल पक्षको राजनीतिक भविष्य ?
माधवकुमार नेपालको अनुपस्थिति मै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको अवस्थामा अब सो पक्षको भविष्य के होला भन्नेबारे चासो बढ्न थालेको छ । पार्टी एकताका लागि हुँदै आएको प्रयास अझै सार्थक हुन सकेको छैन । माधव नेपाल पक्षका नेताका अनुसार पार्टीले कारवाही गरे अलग पार्टी बनाउने, अन्यथा पार्टीमै रहेर समानान्तर रुपमा पार्टीका गतिविधि अघि बढाउने रणनीति यो पक्षले बनाएको छ । ओली पक्षमा ‘हार्डलाइनर’ हावी भएकाले पनि तत्काल एकताको सम्भावना नदेखिएको बताइन्छ ।

७. सामाजिक सञ्जालमार्फत पोखियो रामचन्द्र पौडेलको गुनासो 
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमै महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पार्टीलाई पु¥याएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत गुनासो पोख्दै उनले सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्तामा पुग्ने गरेको जनाएका छन् ।


८. लुम्बिनी प्रदेशका तीन जसपाका सांसदमाथि कारवाही यथावत
लुम्बिनी प्रदेशका जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारवाही यथावत रहने भएको छ । सर्वोच्च अदालतले सोमबार सो सम्बन्धी रिट निवेदनमाथि सुनुवाई गर्दै उनीहरुको पद थमौती गर्न अस्वीकार गरेको हो ।

९. ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सुरु गरेको छ । यसअघि पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकका लागि दोस्रो डोज खोपको व्यवस्था गरिएको हो ।

१०. कोरोना भाइरसबाट थप तीन हजार ६५१ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप तीन हजार ६५१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
प्रदेश १ को प्रदेशसभा सचिवालयका अनुसार प्रदेशको राजधानीमै घर भएका सांसदहरुले समेत घर भाडा बापत सुविधा लिइरहेका छन् । यस्तो सुविधा लिनेमा बहालवाला मन्त्रीसमेत छन् । मन्त्रीका लागि सरकारी आवासको व्यवस्था भए पनि प्रदेशसभा सचिवालयबाट घरभाडा बापतको रकम लिइरहेको पाइएको हो ।

भौतिक रुपमा लिइने परीक्षा रद्द गरेर अनलाइनमार्फत परीक्षा लिन माग गर्दै सोमबार त्रिभुवन विश्वविद्यालय अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । 

काठमाडौं महानगरपालिका–१० स्थित मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप