बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुनसरीको लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल बैशाख देखि पुनः सञ्चालनमा आउने

बिहीबार, २८ साउन २०७८, १८ : ५३
बिहीबार, २८ साउन २०७८

दुहबी । सुनसरीको दुहबीमा संचालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ । 

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्द प्राय रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएका हुन् । 

बन्द हुनु अघिसम्म १५ शैया क्षमतामा संचालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शैया बनाइनेछ । सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ ।

सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउनेछ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउन्डेसनले जुटाउनेछ । 

नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक बसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।

करिब ८ हजार वर्ग फिटको नयाँ संरचनासहित मुटुरोग÷प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरण जडित आइसियू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः संचालन हुनेछ । सो अस्पतालमा डायलासिस सेवा समेत उपलब्ध हुनेछ । अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा समेत उपलब्ध हुने बताइएको छ । अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । 

आगामी बैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुने अस्पतालले जनाएको छ । 

चौधरीका मातापिताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० शैयाको अत्याधुनिक छुट्टै अस्पतालको निर्माण कार्य समेत सुरु गर्ने यसअघि नै घोषणा भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप