सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, काँग्रेसमा सामूहिक राजीनामाको चेतावनी

देउवा सरकारको एक महिना बित्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेन
शुक्रबार, २९ साउन २०७८, २० : ५६
शुक्रबार, २९ साउन २०७८

आज २०७८ साउन २९ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यले दिए सामुहिक राजीनामाको चेतावनी, देउवा सरकारको एक महिना बित्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेन, ज्येष्ठ नागरिकलाई घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश, नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले दिए हवाई क्षेत्र ठप्प पार्ने चेतावनी लगायत छन् ।

१. चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् विशेषता
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा चालु आर्थिक वर्ष कोभिड–१९ विरुद्ध खोप उपलब्ध भई उद्योग र सेवा क्षेत्रमा सुधार आउने प्रक्षेपण गरिएको छ । राष्ट्र बैंकले नेपालको आफ्नै भुक्तानी कार्ड ल्याउनेदेखि विद्युतीय मुद्राको सम्भाव्यता अध्ययनसम्मको योजनालाई मौद्रिक नीतिमा समेटेको छ । कोभिड–१९ बाट प्रभावित क्षेत्रमा सुधारका लागि विभिन्न सहुलियत प्रदान गर्ने योजनामा पनि समेटिएको छ ।

​२. काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यले दिए सामुहिक राजीनामाको चेतावनी
सत्तारुढ दल नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामुहिक राजीनामाको चेतावनी दिएका छन् । केन्द्रीय समितिको जारी बैठकमा उनीहरुले पार्टीका पदाधिकार तथा केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा आउने तर त्यो सुविधा आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नगरिएको भन्दै राजीनामाको चेतावनी दिएका हुन् । बैठकमा केन्द्रीय सदस्यहरुले महाधिवेशनको नयाँ कार्यतालिका नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

३. मन्त्रीसमेत छान्न नसकी बित्यो देउवा सरकारको एक महिना
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पूरा भएको छ । सरकार गठन भएको महिना दिन बित्दा पनि सरकारले पूर्णता पाउन भने सकेको छैन । मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै देउवा सरकारको आलोचना हुने गरेको छ । सत्तारुढ घटकले समेत सरकारमा पठाउने मन्त्रीहरुको सूची तयार पार्न सकेका छैनन् भने वर्तमान सरकार निर्माणकै क्रमदेखि सघाउँदै आएको एमालेको माधवकुमार नेपाल पक्ष सत्तामा जान्छ या जाँदैन भन्नेबारे पनि टुंगो लाग्न सकेको छैन । देउवाकै नेतृत्वमा रहेको नेपाली काँग्रेसको महाधिवेशनसमेत अन्योलमा परेका कारण उनको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्न थालेको छ ।

४. मातृका यादवले ओलीका बारेमा गरेका टिप्पणी संसदको रेकर्डबाट हटाइने
नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेका टिप्पणीलाई संसदको रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका छन् । यादवको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्रीसमेत रहेका एमालेका सांसद नारदमुनि रानाले काँग्रेसका नेताहरुको घरमा कोरोनाविरुद्धको खोप पुगेको आरोप लगाए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार छापा पारेको छ । भवन निर्माण तथा सामान खरिदका सम्बन्धमा अनियमितता भएको भन्दै अख्तियारको टंगालस्थित कार्यालय र इटहरीस्थित कार्यालयमा आएको उजुरीका आधारमा छापा मारेको जनाइएको छ । सांसद धर्मशीला चापागाईले जनयुद्धका घाइतेलाई एमाले कार्यालयमा आउन आग्रह गरेको ओलीको अभिव्यक्तिप्रति प्रहार गर्दै एमालेकै कार्यालयमा डिकेन्द्र राजवंशीले आत्महत्या गर्नुपर्ने कारण के थियो भन्दै प्रश्न गरेकी छन् ।  

५. ज्येष्ठ नागरिकलाई घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई घरमै गएर खोप लगाइदिन सरकारलाई अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रवेश केसीद्वारा दायर रिट निवेदनमाथि सुनुवाई गर्दै खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, अस्पतालले पहिचान गरेका दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमै खोप सेवा दिन अन्तरिम आदेश जारी गरेको हो ।

६. हवाई सेवा बन्द गर्ने चेतावनी
नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले दुई वटा विधेयक फिर्ता नभए हवाई सेवा बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ फिर्ता हुनुपर्ने उनीहरुको माग छ ।

७. लुम्बिनी सरकारमा सहभागी अजय शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण
लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका अजय शाहीलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । शाही एमालेकै चुनाव चिह्न लिएर प्रदेशसभा सदस्य पदका उम्मेदवार भइ चुनाव जितेका थिए । एमालेले उनीमाथि दलीय अनुशासनको कारवाही प्रक्रिया स्वरुप स्पष्टीकरण सोधेको हो । शाही हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहका सदस्य हुन् । स्वतन्त्र समूहले निर्वाचनमा एमालेसँग सहकार्य गर्दै एमालेकै चुनाव चिह्नबाट उम्मेदवारी दिएको थियो । 

८. नागपञ्चमी मनाइयो 
शुक्रबार नागको पूजा आराधना गरेर नाग पञ्चमी मनाइएको छ । राजधानीको नागपोखरी, टौदह, भक्तपुरको सिद्वपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष पूजा गरिएको छ ।

९. सीमा क्षेत्रमा आवतजावत गर्नेको व्यक्तिगत विवरण राख्न संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सीमा क्षेत्रमा आवत जावत गर्ने व्यक्तिहरुको व्यक्तिगत विवरणसहितको तथ्यांक राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले मानव बेचबिखन नियन्त्रण गर्ने उद्देश्यले सरकारलाई विभिन्न सुधारका काम गर्नसमेत निर्देशन दिएको छ ।


१०. कोरोना भाइरसबाट थप तीन हजार ९१५ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप तीन हजार ९१५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
प्रेस काउन्सिल नेपालले मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ । दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अंक वा अक्षर जोडेर डोमेन/मिडिया दर्ता गराई मिल्दोजुल्दो मास्टहेड तथा लोगो र नाम लिएर सूचीकरण हुन आएमा सूचीकरण नगर्ने जनाएको हो ।

बागमती प्रदेशसभा सदस्यहरुको आवास सुविधा बापत गत आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूका लागि गत आर्थिक वर्ष १ करोड ९० लाख ४ हजार ७४९ रुपैयाँ खर्च भएको हो ।

काँग्रेसका पूर्वमन्त्री महोम्मद आफताव आलमले थुनाबाट छुट्न पाउनुपर्ने माग सहित दिएको निवेदनमा शुक्रबार सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाई भएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा रहेको आलमको मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ ठहर गर्दै सुनुवाइ गरेन ।

भक्तपुर नगरपालिका–५ बाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट प्रहरीले एक लाख ८९ हजार नगद बरामद गरेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप