अर्घाखाँचीमा पहिरोमा परेर मजदुरको मृत्यु
शनिबार, ३० साउन २०७८, १४ : ३७
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ । पाणिनी–६, लामडाँडा निवासी ४३ वर्षीय मनबहादुर सुनारको पहिरोमा परेर मृत्यु भएको हो । निर्माणको काममा खटिएका सुनारको पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए ।
पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनारलाई माथिबाट एक्कासि आएको पहिरोले पुरेको थियो । घटना भएको २ घण्टापछि प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर पुरिएका सुनारको शव निकालेका थिए ।