सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माओवादी एक नम्बरमा पुग्ने प्रचण्डको दाबी, अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्न समिति गठन

आइतबार, ३१ साउन २०७८, २१ : ०९
आइतबार, ३१ साउन २०७८

आज २०७८ साउन ३१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा आगामी चुनावमा माओवादी पार्टी एक नम्बरमा पुग्ने प्रचण्डको दाबी, अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्न समिति गठन, एमालेमा पार्टी एकताको कसरत जारी, भारतको स्वतन्त्रता दिवसमा नेपालको चर्चा, सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, गण्डकी प्रदेश सरकारलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र लगायत छन् ।

१.अबको चुनावमा माओवादी एक नम्बरको पार्टी हुने प्रचण्डको दाबी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको चुनावमा आफ्नो पार्टी एक नम्बरमा पुग्ने दाबी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायमै रहेको पनि बताए । बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै प्रतिनिधिसभालाई पूर्ण कार्यकाल सञ्चालन गर्ने गरी लागिपर्न अपिल समेत गरेको छ ।

​२. अफगानिस्तानबाट नेपालीलाई उद्धार गर्न समिति गठन
अफगानिस्तानमा तालिवानले आफ्नो पकड मजबुत बनाउँदै राजधानी काबुल प्रवेश गरेको छ । यही परिस्थितिमा नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई उद्धार गर्न संयोजन गर्ने उद्देश्यले समिति गठन गरेको छ । सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको हो । आइतबार तालिवान लडाकुहरु राजधानी काबुल प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिवान अब सत्ताको नजिक पुगेको छ भने अफगान सरकारले तालिवानसँग सत्ता हस्तान्तरणका लागि सम्झौताको तयारी थालेको छ ।

​३. एमालेमा एकताको कसरत जारी, भीम रावल र ईश्वर पोखरेलबीच छलफल
नेकपा एमालेमा एकताको प्रयास अझै जारी छ । सोही क्रममा एमाले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । आइतबार पोखरेलको निवासमा एक घण्टा छलफल भए पनि निष्कर्ष भने सार्वजनिक गरिएको छैन । उता, वरिष्ठ नेता झलनाथ खनालसँग भेट गर्न एमाले सचिव भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे भने दिल्ली पुगेका छन् ।

४. भारतको स्वतन्त्रता दिवसमा नेपालको चर्चा
भारतले आइतबार स्वतन्त्रता दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सो अवसरमा ट्वीटरमार्फत बधाई तथा शुभकामना दिए । जवाफमा मोदीले भारत र नेपालका जनता हाम्रो साझा सांस्कृतिक, भाषिक, धार्मिक र पारिवारिक सम्बन्धद्वारा एकजुट रहेको बताए । काठमाडौं स्थित भारतीय दूतावासमा पनि स्वतन्त्रता दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै नेपाली भूभाग फिर्ता गर्न आग्रह गरेको छ ।

५. सेयर बजारमा मौद्रिक नीतिको प्रभाव : एकै दिन साढे २१ अर्बभन्दा बढीको कारोबार
नेपाली सेयर बजार परिसूचक (नेप्से) मा मौद्रिक नीतिको प्रभाव देखिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो । आइतबार सेयर बजारमा त्यसको प्रभाव देखा पर्दै साढे २१ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

६. महन्थ ठाकुर र राजेन्द्र महतो जसपाका साधारण सदस्यमात्र
जसपा नेपालले महन्थ ठाकुर र राजेन्द्र महतोलाई साधारण सदस्यमै सीमित गरेको छ । यसअघि ठाकुर जसपाका अध्यक्ष थिए भने महतो वरिष्ठ नेता थिए । निर्वाचन आयोगलाई केन्द्रीय कमिटी अद्यावधिक गरिएको विवरण पठाउँदै जसपाले ठाकुर र महतोको नाम केन्द्रीय कमिटीबाट हटाएको हो ।

७. मेलम्ची क्षेत्रमा जोखिम नटरेको निष्कर्ष
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा अझै प्राकृतिक प्रकोपको जोखिम नटरेको विज्ञहरुले जनाएका छन् । मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले अझै जोखिम कामय रहेको निष्कर्ष निकालेको हो । 


८. गण्डकी प्रदेश सरकारलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र
गण्डकी प्रदेश सरकारलाई नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझाइएको छ । पूर्व मुख्यमन्त्री तथा गण्डकी प्रदेश एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वमा गएको टोलीले विभिन्न योजनामा बजेट कटौती गरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

९. अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन असोजमा
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आगामी असोज ८ देखि १० गते सम्म काठमाडौंमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार भदौ १५ भित्र इकाइ, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरिनेछ भने भदौ २५ देखि असोज १ गतेभित्र जिल्लाहरुको भेला तथा सम्मेलन सकिने छ । 

१०. कोरोना भाइरसबाट थप दुई हजार २१२ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप दुई हजार २१२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८६७ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छोरीमार्फत सर्वोत्तम सिमेन्टको सेयर कारोबार गरेको विषयलाई बोर्डले बचाउ गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको कारोबारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको जनाएका हुन् ।

लुम्बिनी प्रदेश सरकारका मन्त्री अजय शाहीले आफूलाई एमालेको ह्वीप नलाग्ने दाबी गरेका छन् । एमालेकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भई प्रदेशसभा सदस्यमा विजयी भएका उनले आफूले एमालेको सदस्यता नलिएको भन्दै ह्वीप नलाग्ने दाबी गरेका हुन् । एमालेले भने उनलाई स्पष्टीकरण सोधेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप