सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकहरुको खराब कर्जा बढ्यो, राष्ट्रिय वाणिज्य बैंकको मात्रै ५ अर्ब ९५ करोड

बुधबार, ०२ भदौ २०७८, १५ : २६
बुधबार, ०२ भदौ २०७८

वाणिज्य बैंकहरुको खराब कर्जाको दर बढेर ५० अर्ब नाघेको छ । हालै मात्र जारी २७ वटा वाणिज्य बैंकहरुको वार्षिक रिर्पोट अनुसार आर्थिक वर्ष २०७७÷७८ मा बैंकहरुको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ करोड ३५ लाखले थपिएर ५० अर्ब २० करोड रुपैयाँ पुगेको हो ।

बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म कुल ३६ खर्ब ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.३६ प्रतिशत अर्थात् ५० अर्ब २० करोड रुपैयाँ रहेको बैंकर्स संघले जनाएको छ ।

यस्तै अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा बैंकहरुले कुल २८ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा सो अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.७३ प्रतिशत अर्थात् ४९ अर्ब ९२ करोड १० लाख रुपैयाँ रहेको थियो ।

तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरुको औषतमा खराब कर्जा अनुपात ०.३७ प्रतिशत बिन्दुले घटेपनि खराब कर्जाको परिमाण भने थप २८ करोड ३५ लाख रुपैयाँले थपिन पुगेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ५ अर्ब ९५ करोड

नेपाल बैंकर्स संघद्वारा जारी तथ्यांक अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको औसत ३.०७ प्रतिशत अर्थात् अधिकतम ५ अर्ब ९५ करोड पुगेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको २.४६ प्रतिशत (३ अर्ब ९८ करोड), एनएमबी बैंकको २.२७ प्रतिशत (३ अर्ब ५४ करोड), ग्लोबल आइएमई बैंकको १.४२ प्रतिशत (३ अर्ब ३९ करोड), सिटिजन्स बैंकको २.७७ प्रतिशत (३ अर्ब ३७ करोड), नेपाल बैंकको २.१० प्रतिशत (२ अर्ब ९६ करोड), कृषि विकास बैंकको १.८४ प्रतिशत (२ अर्ब ८१ करोड) रहेको बैंकर्स संघले जनाएको छ ।

यस्तै, प्रभु बैंकको १.६८ प्रतिशत (२ अर्ब ३९ करोड), सिद्धार्थ बैंकको  १.१६ प्रतिशत (१ अर्ब ९० करोड), मेगा बैंकको १.२६ प्रतिशत (१ अर्ब ७६ करोड), एनसीसी बैंकको १.७८ प्रतिशत (१ अर्ब ७४ करोड), प्राइम बैंकको १.१९ प्रतिशत (१ अर्ब ६८ करोड), र बैंक अफ काठमाण्डूको १.६७ प्रतिशत (१ अर्ब ६१ करोड) रहेको संघले जनाएको छ ।

समीक्षा अवधिमा नबिल बैंकको ०.७८ प्रतिशत (१ अर्ब ६१ करोड), सेञ्चुरी बैंकको १.९५ प्रतिशत (१ अर्ब ५६ करोड), कुमारी बैंकको १.०८ प्रतिशत (१ अर्ब ५४ करोड), सनराइज बैंकको १.३८ प्रतिशत (१ अर्ब ४१ करोड, लक्ष्मी बैंकको १.२१ प्रतिशत (१ अर्ब ३२ करोड)एनआईसी एशिया बैंकको ०.४६ प्रतिशत (१ अर्ब २१ करोड) र सबैभन्दा थोरै एभरेष्ट बैंकको ०.१२ प्रतिशत (१ करोड ३५ लाख)  खराब कर्जा रहेको बैंकर्स संघले जनाएको छ ।

बैंकबाट ऋण लिएका ऋणीहरुले समयमै आफ्नो ऋण भुक्तानी नगरिदिँदा यस्तो खराब कर्जाको दर बढ्न पुगेको हो । बैंकले कर्जा चुक्ताका लागि राखेको अन्तिम भाखा नाघेको एक वर्षसम्म पनि ऋणीले ऋण नतिरेमा त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने व्यवस्था छ । यस्तो कर्जा जुन कुनै बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशत भन्दा बढि गएमा जोखिम मान्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप