बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई दिँदै

बिहीबार, ०३ भदौ २०७८, १६ : १२
बिहीबार, ०३ भदौ २०७८

काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई उपलब्ध गराउने भएको छ । अमेरिकामा १० वर्षदेखि उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको भन्दै उक्त सप्लिमेन्ट नेपाललाई उपलब्ध गराउन लागेको हो । 

अमेरिकाको टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउन्डेसन र नर्भिक इनिसियटिभ फर न्यूट्रिसन एन्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नेपाललाई प्रदान गर्ने भएका हुन् । 

आज नर्भिक अस्पतालमा पत्रकार सम्मेलनमार्फत यस डाइटरी सप्लिमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्न सक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने विश्वास ड्यान शेलीले व्यक्त गरे । नेपाललाई निकै ठूलो सहयोग लिएर यस डाइटरी सप्लिमेन्टको अनुसन्धानकर्ता डा. न्याथन ब्रायनसँगै आउका पूर्व सिनेटर ड्यान शेलीले नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई बेवास्ता गर्न नसकिने बताए । उनले कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपाल जस्तो मुलुकका लागि डाइटरी सप्लिमेन्ट काम लाग्न सक्ने बताए ।

यो डाइटरी सप्लिमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ । दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँने र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने बताइएको छ । यो डाइटरी सप्लिमेन्ट कोरोना भाइरस विरुद्धको खोपको कम उपलब्धता हुने मुलुकका लागि वरदान सावित हुनसक्ने बताइएको छ । नेपालमा ४७ लाख ८५ हजारभन्दा बढी जनसंख्याले खोपको पहिलो मात्रा र ३४ लाख ४९ हजार ७ सयभन्दा केही बढीले मात्र खोपको दुवै मात्रा लगाउन पाएको तथ्याङ्क छ । 

नाइट्रिक अक्साइडसँग सम्बन्धित खोजमा २० वर्षदेखि संलग्न अमेरिकी खोजकर्ता तथा वैज्ञानिक डा. न्याथन एस. ब्रायनले हालसालै कोरोना भाइरसविरुद्ध निकै प्रभावकारी देखिएको नोभिरिसिड नामको औषधि समेत बनाइसकेका छन् । हाल अमेरिकामा यो औषधिको तेश्रो फेजको क्लिनिकल ट्रायल चलिरहेको छ । डा. ब्रायन आणविक चिकित्साको अन्तर्राष्ट्रिय लिडर समेत हुन् ।

कोरोना भाइरसबाट अहिले पनि औसत ३ हजार हाराहारीमा संक्रमितहरुको पहिचान भइरहेको छ भने ८ लाख १७ हजारभन्दा बढी पहिलो र दोश्रो लहरमा संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १० हजार ३९६ बढीको ज्यान गइसकेको छ । यस्तो अवस्थामा यो सप्लिमेन्ट उपयोगी हुने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप