सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माधव नेपालमाथि खनिए ओली, मन्त्रिपरिषद् अझै दुई साता विस्तार नहुने

बिहीबार, ०३ भदौ २०७८, २० : ५५
बिहीबार, ०३ भदौ २०७८

आज २०७८ भदौ ३ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा एमाले विभाजनपछि माधव नेपालमाथि खनिए ओली, मन्त्रिपरिषद् अझै दुई साता विस्तार नहुने, अष्टलक्ष्मी शाक्यलाई प्रदेश सरकार टिकाउन कठिन, एमाले विभाजनपछि प्रदेश १ सरकार अल्पमतमा, अध्यादेशबारे माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समान मत, कारवाही गरिएका १४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दबाब लगायत छन् ।

१. एमाले विभाजनपछि माधवकुमार नेपालमाथि खनिए ओली
एमाले विभाजनपछि केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि विभिन्न आरोप लगाएका छन् । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले एमालेभित्र रहेर एमालेलाई नै सिध्याउने भूमिका निर्वाह गरेको आरोप लगाए । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले सभामुखको भूमिकामाथि पनि प्रश्न गरे । बिहीबार नै आयोजित एक अर्को कार्यक्रममा उनले अहिले पनि देशभर एमाले बहुमतमा रहेको दाबी गरे ।

​२. अझै दुई साता मन्त्रिपरिषद विस्तार नहुने
सत्तारुढ गठबन्धनबीच अझै दुई साता मन्त्रिपरिषद विस्तार नगर्ने समझदारी भएको छ । बिहीबार सत्ता गठबन्धन घटकका शीर्ष नेताहरुबीच भएको छलफलमा यस्तो समझदारी भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत बिहीबार नै आयोजित एक कार्यक्रममा माधवकुमार नेपाल नेतृत्वको पार्टीले मान्यता पाएपछि मात्र मन्त्रिपरिषद विस्तार हुने बताए ।

​३. अष्टलक्ष्मी शाक्यलाई सहज छैन सरकार जोगाउन
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सरकार जोगाउन सहज नहुने देखिएको छ । प्रदेशसभाको अंक गणित अनुसार एमाले विभाजनपछि एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको हो । 

४. एमाले विभाजनपछि प्रदेश १ सरकार अल्पमतमा
नेकपा एमाले विभाजनपछि प्रदेश १ सरकार अल्पमतमा पर्ने देखिएको छ । प्रदेशसभाको अंक गणितमा एमाले नेतृत्वको प्रदेश सरकार पार्टी विभाजनसँगै अल्पमतमा पर्ने देखिएको हो ।

५. अध्यादेशबारे माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समान मत
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समान खालको धारणा सार्वजनिक गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकार र देउवा सरकारले ल्याएको अध्यादेशलाई समान रुपमा हेर्न नमिल्ने तर्क गरेका छन् । ओलीले ल्याएको अध्यादेश प्रतिगमनका लागि र देउवाले ल्याएको अध्यादेश लोकतन्त्रको रक्षाका लागि भएको उनको भनाइ छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि ओलीले ल्याएको अध्यादेशले देश प्रतिगमनतिर जाने र अहिलेको अध्यादेशले सत्तारुढ गठबन्धनको रक्षा गर्ने तर्क गरेका छन् ।


६. वैचारिक अस्पष्टताले कम्युनिस्टमा टुटफुट : बाबुराम
जसपा नेपालका नेता डा. बाबुराम भट्टराईले वैचारिक रुपमा स्पष्ट हुन नसक्दा कम्युनिस्टहरु टुटफुटको अवस्थामा पुगेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले जनयुद्धको उपलब्धिलाई पूर्णतामा लैजान नसकेको पनि स्वीकार गरे ।


७. १४ सांसदलाई पदमुक्त गर्न सभामुखमाथि एमालेको दबाब
केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले पार्टीबाट कारवाही गरिएका १४ सांसदलाई पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिन थालेको छ । एमाले विभाजन गरी बुधबार माधवकुमार नेपाल नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन भइसकेको अवस्थामा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदमाथि भएको कारवाही अनुसार उनीहरुलाई पदमुक्त गर्न सभामुखलाई दबाब दिएको हो । केपी शर्मा ओली र माधवकुमार नेपालबीचको ४९ वर्ष लामो सम्बन्ध एमाले विभाजनसँगै टुटेको छ ।

८. माइतीघरमा धर्ना
थरूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समिति र भूतपूर्व ब्रिटिश गोर्खा संघर्ष समितिले बिहीबार अलग अलग मागसहित काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । थरूहट थारुवान राष्ट्रिय मोर्चाले थरूहट विद्रोह ६ वर्ष पुगेको अवसरमा धर्ना दिएको हो भने भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले बेलायतमा अनसनरत भुपू गोर्खाका सत्याग्रहीको जीवन रक्षाको मागसहित धर्ना दिएको हो ।

९. राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध रिट निवेदन
सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेश विरुद्ध रिट निवेदन पेस गरिएको छ । विभिन्न पक्षले अध्यादेश खारेजीको मागसहित रिट निवेदन दिएका हुन् । सरकारले जारी गरेको उक्त अध्यादेशअनुसार नेकपा एमाले र जसपा नेपाल विभाजन गरी दुईवटा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । अध्यादेश अनुसार विभाजन भएर बनेका नयाँ दलमा सामेल भएको अवस्थामा समेत जनप्रतिनिधिहरुको पद सुरक्षित रहने भएको छ । 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप तीन हजार ७५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
सरकारले बागमती प्रदेश प्रमुखमा यादव चन्द्र शर्मालाई सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

ललितपुरमा एउटा अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्दै आएको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–३ कान्तिपुर हाइटस्थित अपार्टमेन्ट भाडामा लिइ अवैध रुपमा यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

नेकपा एमालेका नेता महेश बस्नेतले लिच्छविकालपछि केपी शर्मा ओलीकै प्रधानमन्त्रीकाल नेपालका लागि स्वर्ण युग रहेको बताएका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप