सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : दुवै नयाँ पार्टीले फेरे नाम, एमालेमा तेस्रो धारले भावी रणनीति तयार पार्दै

सभामुखको कार्यकक्षमा एमालेको धर्ना
शुक्रबार, ०४ भदौ २०७८, २० : ३०
शुक्रबार, ०४ भदौ २०७८

आज २०७८ भदौ ४ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा अध्यादेशअनुसार दल विभाजनपछि बनेका दुवै नयाँ पार्टीले फेरे नाम, सभामुखको कार्यकक्षमा एमालेको धर्ना, एमालेमा तेस्रो धारले भावी रणनीति तयार पार्दै, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस, सेयर बजारमा सीमित लगानीकर्ताले लाभ लिएको अर्थमन्त्रीको जिकिर, आफू नयाँ दलमा रहेको झलनाथ खनालको भनाइ लगायत छन् ।

१. अध्यादेश अन्तर्गत विभाजित भएर बनेका दुवै नयाँ पार्टीको नाम फेर्न प्रस्ताव

एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्वमा गठन भएको दल र जसपा नेपाल विभाजन भएपछि महन्थ ठाकुरको नेतृत्वमा गठन भएको दलले निर्वाचन आयोगमा दलको नयाँ नाम प्रस्ताव गरेका छन् । यसअघि माधवकुमार नेपाल नेतृत्वको दलले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर नेतृत्वको दलले जसपा नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरेकोमा आयोगले यसअघिकै सूचनालाई आधार मानेर आयोगमा दर्ता भएका कुनै पनि दलको मूल नामको अगाडि वा पछाडि केही फुर्को थपेर नयाँ दल दर्ता गर्न नसकिने जनाएपछि दुवै दलले नयाँ नाम प्रस्ताव गरेका हुन् । माधवकुमार नेपाल नेतृत्वको दलले नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको दलले लोकतान्त्रिक समाजवादी पार्टी नाम प्रस्ताव गरेको हो ।

​२. सभामुखको कार्यकक्षमा एमालेको धर्ना
नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा धर्ना दिएका छन् । पार्टीले कारवाही गरेका १४ सांसदको पद खारेजीका लागि दबाब दिन भन्दै एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा डेढ घण्टाभन्दा बढी समय बसेका थिए । तर सभामुख नआएपछि उनीहरु हिँडेका थिए ।

३. एमालेमा तेस्रो धार भावी रणनीति बनाउँदै
एमाले विभाजनका बाबजुद तेस्रो धारले आफ्नो राजनीतिक एजेन्डालाई निरन्तरता दिने संकेत गरेको छ । पार्टी विभाजनपछि दुवै पक्षमा नलागेका एमाले नेताहरु भावी रणनीति बनाउन थालेका हुन् ।

४. बढ्यो बेरुजु, महालेखापरीक्षकको प्रतिवेदन पेस
महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ सम्म कुल बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कुल बेरुजुको ५ प्रतिशत स्थानीय तहमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार दिगो विकास हासिल गर्ने नेपालको लक्ष्यमा औसत ५ खर्ब ८५ अर्ब रुपैयाँ लगानी अपुग देखिएको छ ।

५. सेयर बजारमा सीमित लगानीकर्ताले मात्र लाभ लिएको अर्थमन्त्रीको जिकिर
अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा लाखौं लगानीकर्ता भए पनि सीमितले मात्र लाभ लिन सकेको जिकिर गरेका छन् । अर्थ समितिको शुक्रबार बसेको बैठकमा उनले सेयर बजारमा दैनिक नयाँ कीर्तिमान बन्दा पनि सय जना जतिले मात्र लाभ लिइरहेको बताए । समितिको बैठकले धितोपत्र कारोबारमा मुछिएका बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासहित नेप्सेका अध्यक्ष चन्द्रसिंह साउद, बोर्ड सञ्चालक समितिका सदस्यसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मुद्दा छानविन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउनसमेत अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

६. बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त 
राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्दै यादवचन्द्र शर्मालाई सो पदमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा उनले बागमती प्रदेश प्रमुखमा फेरबदल गरेकी हुन् ।

७. आफू नयाँ दलमा रहेको झलनाथको प्रष्टोक्ति
पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू नयाँ दलमा रहेको प्रस्ट पारेका छन् । हाल भारतको नयाँ दिल्लीमा उपचाररत उनले अस्पतालबाटै आफ्ना धारणा सार्वजनिक गर्दै आफू नयाँ दलमा रहेको जनाएका हुन् । माधवकुमार नेपालको नेतृत्वमा गठित दलमा उनलाई वरिष्ठ नेताका रुपमा राखिएको छ ।

८. जसपा विभाजनका बाबजुद प्रदेश २ मा उपेन्द्र यादव पक्ष बलियो
जसपा नेपाल विभाजनका बाबजुद प्रदेश २ मा उपेन्द्र यादव पक्ष बलियो अवस्थामा देखिएको छ । प्रदेश २ सरकारको नेतृत्वसमेत गर्दै आएको जसपा नेपालबाट महन्थ ठाकुरको नेतृत्वमा नयाँ दल गठन भए पनि तत्कालीन समाजवादी पार्टी र तत्कालीन राजपा नेपालबीच एकीकरण हुनु अघिको अवस्थासँग तुलना गर्ने हो भने जसपा विभाजन पश्चात उपेन्द्र यादव पक्षले आफ्नो आकार बढाएको देखिन्छ ।

९. कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्रफल सार्वजनिक गर्न माग
सीमाविद् बुद्धिनारायण श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्रफल सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार आफ्नो पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले ती भूभागलाई समेटेर सरकारले नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल पनि सार्वजनिक हुनुपर्ने माग गरे ।

१०. कोरोना भाइरसबाट थप तीन हजार ४२ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप तीन हजार ४२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

झापाको बिर्तामोडको एउटा होटलमा महिलाहरुले खाजा खाइरहेको बेला भिडियो खिच्ने दुई युट्युवर र दुई टिकटकरलाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाल गण्डकी प्रदेशमा सांगठनिक रुपमा कमजोर देखिएका छन् । यसअघि उनलाई खुलेर साथ दिएका एमालेका कार्यकर्ताले समेत दल विभाजनपछि कता लाग्ने भनेर अझै निर्णय दिन सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप