आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बसयात्राकै क्रममा मृत्यु भएकी महिलाको शव आफन्तले बुझे

शनिबार, ०५ भदौ २०७८, १६ : ४५
शनिबार, ०५ भदौ २०७८

रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकाकी एक महिलाको उपचारको लागि नेपालगञ्ज आउँदै गर्दा बसमै मृत्यु भएको छ । रुकुम –पश्चिमको ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्मकुमारी बटालाको बसमै मृत्यु भएको हो । बिहीबार  साँझ ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उपचारका लागि नेपालगञ्ज आउँदै गरेकी बटालाको बीच बाटोमै मृत्यु भएपछि उनीसँगै रहेका बच्चालाई अन्य यात्रुले सम्हालेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  नेपालगञ्जको भेरी अस्पतालको आइसियुमा राखिएको उनको शव अहिले आफन्तहरुले अन्तिम संस्कारको लागि लगेका छन् ।

३२ महिनाको बच्चासहित राडी भन्ने स्थानबाट नाइट बस चढेर नेपालगञ्जमा उपचारका लागि आउँदै गर्दा उनको मृत्यु भएपछि उनीसँगै रहेको बच्चाको  तस्विर बसका अन्य यात्रुहरुले सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो । प्रहरीले भने उक्त घटना सामाजिक सञ्जालमा आइसकेपछि थाहा पाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले रातोपाटीसँग भने– ‘कहालीलाग्दो घटना रहेछ, फेसबुकमा भाइरल भइसेको रहेछ, हामीलाई पछि थाहा भयो । अहिले माइती र घर दुवै पक्षका मान्छे आएर शव अस्पतालबाट लगेको छन् ।’ धर्मकुमारीलाई प्रेसर हाइ र लो हुने समस्या रहेको श्रीमान दलबहादुरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप