सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिटी सफारीका समस्या : दुर्घटनाको जोखिम कसरी घटाउने ?

आइतबार, ०६ भदौ २०७८, ११ : ००
आइतबार, ०६ भदौ २०७८

नेपालमा सार्वजनिक यातायातको साधनको सञ्चालन सन् १९५९ देखि भएको पाइन्छ । निजीरूपमा भने त्योभन्दा केही समय अगाडिदेखि फाट्टफुट्ट सरकारी प्रायोजन र राजा महाराजाहरूले प्रयोग गर्थे । हाल बस, कार, जिप, टेम्पो जस्ता सवारी साधन यात्रु ओसार्नका लागि प्रयोगमा आएका छन् ।

लामो दूरीमा यात्रा गर्नका निम्ति बस, कार, जिप, हवाइजहाज प्रचलनमा भए पनि छोटो दूरीमा यात्रा गर्न तराईमा पहिले पहिले रिक्सा प्रचलनमा थिए, अहिले अटो रिक्सा, सिटी सफारी धेरै प्रचलनमा छन् । यहाँ यसैमध्येको सिटी सफारीबारे चर्चा गरिएको छ ।

नेपालको तराई र मध्य पहाडी भेगमा सिटी सफारी निकै नै चलेका छन् । यस्ता सवारी साधनले हाम्रो दैनिक यात्राका समस्यालाई धेरै नै समाधान गरेका छन् । टुक–टुक, टोटो या सिटी सफारीका रूपमा चिनिने यस्तो खालको रिक्सा विशेष गरी सन् २००८ देखि अलिक बढी प्रचलनमा आएको हो ।

पेट्रोल, डिजल जस्ता पदार्थ प्रयोग नगरी ब्याट्रीबाट चल्ने यो तीन चक्के सवारी साधन विशेष गरी दक्षिण एसियाली राष्ट्रहरू भारत, बङ्गलादेश, नेपालमा अलि बढी नै चल्ने गर्छन् । विशेष गरी भारत र चीनमा बढी उत्पादन हुने सवारी साधनले यातायातमा सहजता मात्र दिएका छैनन् कि ठूलो मात्रामा रोजगारीको अवसर पनि सिर्जना गरेका छन् ।

 यसले गर्दा स्थानीयको जनजीवन पनि सहज बनाएको छ । धेरै शारीरिक परिश्रमसमेत नपर्ने यस्ता सवारी साधनमा महिला चालकको आकर्षण पनि प्रशस्त देख्न सकिन्छ । जसले गर्दा महिला सशक्तीकरणमा समेत यसले सहयोग पुर्याउने देखिन्छ ।

विदेशबाट फर्केका, सरकारी वा अन्य सेवाबाट सेवानिवृत्त भएका, घरमै बसेका गृहिणीहरू समेतका लागि सिटी सफारी रोजगारीको अवसरका रूपमा रहेको छ । वातावरणीय दृष्टिकोणबाट हेर्दा पनि धेरै राम्रो देखिएको छ । यति हुँदाहुँदै पनि सिटी सफारी चलाउन अनेक चुनौतीको सामना गर्नु परेको देखिन्छ ।

गत महिना यसबारे एक अध्ययन गरेको थिएँ । त्यस क्रममा सिटी सफारी छोटो यात्राका लागि निकै सहज छ । शाखा सडकका लागि यो निकै नै आवश्यक देखिएको छ । तर सडक सुरक्षा र अन्य दृष्टिकोणबाट भने यो निकै चुनौतीपूर्ण देखिएको छ ।

इटहरी, विराटनगर, बुटवल र नारायणगढ जस्ता सहरमा सिटी सफारी चालकहरू, यात्रु, ट्राफिक प्रहरी र अन्य चालकहरू गरी करिब २०० जनालाई सर्वेक्षणमा सहभागी थिए । उनीहरूलाई सोधिएका केही प्रश्नमा ८८.३ प्रतिशत मानिसले सिटी सफारी प्रयोग गरेको तथ्याङ्क प्राप्त भएको छ ।

यी साधन धेरै व्यक्तिको पहुँचमा पुगेका देखिन्छन् । यसले धेरै यात्रुहरूलाई सुविधा दिएको भए पनि यसभित्रका अनेकन समस्या पनि देखिएको छ । चालकले ट्राफिक नियमको जानकारी नराखेका र जथाभावी चलाउँदा धेरै दुर्घटना भएको जानकारी दिएका थिए ।

नेपाल सरकारको यातायात व्यवस्था विभागले सिटी सफारी चालकलाई लाइसेन्सको व्यवस्था गरेको छ । यद्यपि सर्वेक्षणमा प्राप्त तथ्याङ्क भने फरक छ ।

सर्वेक्षणमा सहभागी ६९.८ प्रतिशतले  सिटी सफारी चालकलाई ट्राफिक नियम बारे जानकारी नै नभएको बताए । सहभागीहरूले चढेका सफारी चालकसँगको अनुभवका आधारमा जबाफ दिएको बताएका थिए ।  उनीहरुले २.५ प्रतिशत सफारी चालकहरूलाई मात्र ट्राफिक नियमबारेमा जानकार छन् भनेका थिए ।

सर्वेक्षणमा सहभागीलाई सफारी दुर्घटना किन हुन्छ भनेर प्रश्न सोधिएको थियो । उनीहरूमध्ये ७२.२ प्रतिशत सहभागीले अधिकांश सफारी दुर्घटना आफ्नै कारणले हुने गरेको बताउँछन् ।

यी तथ्याङ्कलाई हेर्दा सफारी चालकलाई रोड सेफ्टी र ट्राफिक नियमबारे निकै जिम्मेवार बनाउनुपर्ने देखिएको छ । नियम पालना भए नभएको बारे सम्बन्धित निकायले कडा नियमन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

अहिले नै दुर्घटनाको कारणको रूपमा चित्रण हुन थालिसकेको सिटी सफारीलाई व्यवस्थित गर्न सकिएन भने यसले निकै ठूलो समस्या निम्त्याउन सक्छ ।

भारतको पश्चिम बङ्गालमा गरिएको एक अध्ययनमा सिटी सफारीको मुख्य चुनौतीको रूपमा अन्य सवारी साधन र यो साधनबीच रोडमा देखिने तनावलाई लिइएको छ ।

नेपालमा पनि यस्ता समस्या देखिँदै गएका छन् ।  सिटी सफारीहरूलाई प्रमुख राजमार्गमा चलाउन दिनुहुन्छ कि हुँदैन भनेर हामीले सोधेका थियौँ । बहुसङ्ख्यक सहभागीले सिटी सफारीलाई मुख्य बाटोमा कुदाउन रोक्नुपर्छ भनेका छन् । ४३.६ प्रतिशत सहभागी सिटी सफारीलाई प्रमुख सडकमा रोक्नुपर्छ भन्छन् । त्यसैले यो सवारी साधन र अन्य सवारी साधनबीचको द्वन्द्व देखिएको छ । यसको व्यवस्थापन गर्न निकै ठूलो चुनौती देखिन्छ ।

अझ दुःखद् पक्ष के छ भने कुन सहरमा कतिवटा सिटी सफारी कुद्छन् भन्ने तथ्याङ्क कुनै सरकारी निकायसँग छैन । त्यस्तो हुँदा कति सवारी साधनलाई लक्षित गरी नीति नियम बनाउने, कस्ता नीति नियम बनाउने, कसरी नीति नियम बनाउँदा लक्षित समूहलाई फाइदा हुन्छ भन्ने कुरामा अन्योल छ । सिटी सफारीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भने ठोस नीति नियम नहुँदा राम्रो व्यवस्थापन गर्न सकिएको छैन ।

उल्लिखित तथ्याङ्ले के देखाउँछ भने सिटी सफारीसँग सम्बन्धित अनेकन समस्या छन् । तीबाहेक हाम्रा आफ्नै पनि अनेक समस्या छन् ।

हाम्रा सडक साँघुरा छन् । कुन सवारी कस्तो बाटोमा प्रवेश दिने कुनलाई रोक्ने भन्ने कुनै मापदण्ड छैन । पूर्वाधारको अभावमा अनुगमन गराउन सकिएको छैन ।

सिटी सफारीसँग सम्बन्धित समस्या त धेरै छन् यद्यपि तिनलाई समाधान नै गर्न नसकिने भने होइन । रोड सुरक्षा, सवारी सञ्चालन गर्ने तरिका लगायत विभिन्न विषयमा पर्याप्त तालिमको व्यवस्थापन गरिनुपर्छ ।

तसर्थ, जीविका, सहजतासँगै दुर्घटनाका कारणसमेत बनिरहेको यस साधनलाई व्यवस्थित बनाउन सबै जिम्मेवार निकाय जागरुक बन्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मन्दिप भट्टराई
मन्दिप भट्टराई
लेखकबाट थप