सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : तेस्रो धारका नेतालाई समेट्दै ओली, सभामुखलाई धम्याएकोप्रति सत्तारुढ दलहरुको आपत्ति

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
सोमबार, ०७ भदौ २०७८, २१ : ४९
सोमबार, ०७ भदौ २०७८

आज २०७८ भदौ ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा एमालेका तेस्रो धारका नेतालाई समेट्दै ओली, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो, कोरोनाको कहरबीच गाईजात्रा पर्व मनाइयो, एमालेले सभामुखलाई धम्याएकोमा सत्तारुढ दलहरूको आपत्ति, काँग्रेसको समाजवाद र कम्युनिस्टको समाजवाद उन्मुख जनवाद असफल भएको जसपाको ठहर, अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाइँदै लगायत छन् ।

१. तेस्रो धारका नेतालाई समेट्दै ओली, स्थायी समिति बैठकमा तेस्रो धारका नेता पनि सहभागी हुने 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र तेस्रो धारका रुपमा चिनिएका नेताहरुलाई समेट्न पहल गरेका छन् । माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भई दर्ताको प्रक्रियामा रहेकै समयमा ओलीले विगतमा माधवकुमार नेपालसँग निकट रहेका केही नेतालाई एमालेमै समेट्न पहल थालेका हुन् । बैठकले माधवकुमार नेपाल अब एमालेमा नफर्कने निष्कर्ष निकाल्दै उनलाई पार्टी दर्ता प्रक्रियाबाट पछाडि हटेको अवस्थामा मात्र कारवाही फिर्ता लिन सकिने ठहर गरेको छ । पार्टीका सबै कमिटीलाई तत्कालीन नेकपा गठन पूर्वकै अवस्थामा अर्थात् २०७५ जेठ २ कै अवस्थामा फर्काउने विषयमा छलफल भएको बताइन्छ । तेस्रो धारका रुपमा चिनिएका नेताहरु मंगलबार बस्ने पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुने जनाइएको छ ।

​२. लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत हासिल गरेका छन् । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दा विपक्षी बेन्चमा राष्ट्रिय जनमोर्चाका एक सांसदमात्र थिए भने प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरु बैठक कक्षमा थिएनन् । प्रदेशसभामा विश्वासको मतमाथि भएको छलफलमा जसपाले भाग लिएन ।

३. काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो, संस्थापन इतर पक्षले सभापतिमा साझा उम्मेदवार उठाउने
नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । विवाद टुङ्गिएसँगै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवेदन बुझेका छन् । यसैबीच काँग्रेसको संस्थापन इतर पक्षले आसन्न महाधिवेशनमा सभापति पदका लागि साझा उम्मेदवार उठाउने भएको छ । सो पक्षका नेताहरुबीच भएको छलफलले नेतृत्वमा साझा उम्मेदवार उठाउने सहमति जुटाएको हो । छलफलमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेता सहभागी थिए ।

४. कोरोनाको कहरबीच गाईजात्रा मनाइयो
कोरोना महामारीको कहरका बीच सांस्कृतिक पर्व गाईजात्रा मनाइएको छ । सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गाईजात्रा मनाइएको छ । 

५. एमालेले सभामुखलाई धम्क्याएको भन्दै सत्तारुढ दलहरूको आपत्ति
प्रमुख प्रतिपक्ष नेकपा एमालेले सभामुखलाई धम्क्याएको भन्दै सत्तारुढ दलहरुले आपत्ति जनाएका छन् । एमालेले पार्टीबाट कारवाही गरेका भनिएका १४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई निरन्तर दबाब दिँदै आएको अवस्थामा सत्तारुढ दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । 

६. काँग्रेसको समाजवाद र कम्युनिस्टको समाजवाद उन्मुख जनवाद असफल भएको जसपाको ठहर
जसपा नेपालले नेपाली काँग्रेसको समाजवाद र कम्युनिष्टहरुको समाजवाद उन्मुख जनवाद असफल भएको निष्कर्ष निकालेको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीले पारित गरेको राजनीतिक प्रतिवेदनमा यस्तो ठहर गरिएको हो । जसपाले आफूलाई विचारको दृष्टिले वैकल्पिक र शक्तिको दृष्टिले पहिलो बन्ने अभियानको अभियन्ता भएको जनाएको छ ।

७. अफगानिस्तानबाट फर्किएका नागरिकलाई पोलियो थोपा 
सरकारले अफगानिस्तानबाट फर्किएका नागरिकलाई पोलियो थोपा खुवाउन थालेको छ । पाँच वर्ष मुनिका बालबालिकाका लागि पोलियो थोपा खुवाइने भए पनि अफगानिस्तान पोलियो रोगको जोखिम क्षेत्र भएका कारण त्यहाँबाट फर्किएका नागरिकका लागि सरकारले पोलियो खुवाउन थालेको हो ।

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिने अठोट गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित एक अन्तरक्रियामा उनले यो विषयमा गम्भीर भएर लाग्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशनसमेत दिए ।  

९. नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक ‘माई सेकेन्ड टिचर’ ले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरेको हो ।

१०. कोरोना भाइरसबाट थप एक हजार ८०१ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप एक हजार ८०१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । तीन दिन यता नेपालमा नयाँ संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या बढी देखिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक राख्न ध्यानाकर्षण गराएको छ । अफगानिस्तानको पछिल्लो अवस्थामा सार्क अध्यक्ष राष्ट्रका हैसियतले नेपालले त्यस्तो बैठक आयोजना गर्नुपर्ने समाजको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप