आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक राेजगारबाट फर्केका छोराद्वारा अनैतिक सम्बन्धको आशंकामा बुवा र पत्नीको हत्या

मङ्गलबार, ०८ भदौ २०७८, १५ : ४८
मङ्गलबार, ०८ भदौ २०७८

धनुषामा ससुरा र बुहारीको हत्या गरेर शव मंगलबार बिहान एकै साथ गाडिएको अवस्थामा फेला परेको छ । दुवै जनाको हत्या मृतक युवतीको पतिले नै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छोराले नै बुवा र श्रीमतीको हत्या गरेको बारे प्रहरीले अनुसन्धान गर्दै जाँदा दुवै बीचको अनैतिक सम्बन्धको आशङ्का कारक रहेको खुलासा भएको छ । अनैतिक सम्बन्ध रहेको आशङ्कामा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया बस्ने २७ वर्षीय भागेश्वर मण्डलले बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्बिकादेवी मण्डलको हत्या गरेको बयान दिएको धनुषा प्रहरीले जनाएको छ । 

​दुबैजनाको शव घर नजिकै रहेको झाडीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । स्थानीयका अनुसार भागेश्वर एक वर्षअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर आएको केही दिन नबित्दै बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्का भागेश्वरको रहँदै आएको थियो । यो विषयलाई लिएर पती र पत्नीबीच पटक पटक विवाद हुँदै आएको थियो । सोमबार राति पत्नी र बुवा दुबैसँग भागेश्वरको झगडा  भएको स्थानीयवासीको भनाइ छ ।

झगडा पछि भागेश्वरले बुवा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशङ्का छ । भागेश्वर र अम्बिकादेवीका एक छोरा र एक छोरी छन् । झगडा भएपछि गए रातिदेखि नै ससुरा र बुहारी दुवै बेपत्ता भएका थिए । दुवैको खोजी गर्दै जाँदा शव गाडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना लगतै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको कुरा स्वीकारेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मृतक दुबैजनाको टाउकोमा गहिरो चोट देखिएको छ । गत राति नै हत्या गरेर शव गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शव निकालेर प्रहरीले अहिले घटनास्थलमा मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप