सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ: माधव र महन्थको पार्टीले पायो दलको मान्यता, जसपा एक साताभित्र सरकारमा

प्रतिपक्षी नेताको भूमिकालाई सशक्त बनाउँदै ओली
बुधबार, ०९ भदौ २०७८, २१ : २०
बुधबार, ०९ भदौ २०७८

आज २०७८ भदौ ९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा माधव नेपाल र महन्थ ठाकुरको पार्टीले पायो दलको मान्यता, प्रतिपक्षी नेताको भूमिकालाई सशक्त बनाउँदै ओली, कोरोना महामारीका नाममा पनि राज्यकोषको दोहन, काँग्रेस संस्थापन इतर समूहका कार्यकर्ता रिले अनशनमा, संविधानमाथि प्रश्न उठाउने काम भएकोमा पूर्व प्रधानन्यायाधीशहरूको आपत्ति, जसपा नेपाल एक साताभित्र सरकारमा सहभागी हुने लगायत छन् ।

१.माधव नेपाल र महन्थ ठाकुरको पार्टीले पायो दलको मान्यता
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएका हुन् ।

नेकपा एकीकृत समाजवादी र लोसपाले दलको मान्यता पाएपनि प्रमाणपत्र भने भोलि मात्र प्राप्त गर्ने छन् । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ ।

 

 

​२. प्रतिपक्षी नेताको भूमिकालाई सशक्त बनाउँदै ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी नेताको भूमिकालाई तिखार्दै सरकार, सभामुख, माधवकुमार नेपाल पक्ष, निर्वाचन आयोग लगायतको काम कारबाहीमाथि औँला ठड्याएका छन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा ओलीले वर्तमान सरकारले विकासका काम ठप्प पारेको, दल विभाजन गराउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए । उनले नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सभामुखले आलटाल गरेकोमा पनि असन्तुष्टि जनाए । यस्तै, माधवकुमार नेपाल नेतृत्वमा एमालेबाट बाहिरिएर अलग दल दर्ता गराउन भूमिका निर्वाह गरेका नेताहरुलाई पनि उनले निशाना बनाए । निर्वाचन आयोगले एमालेबाट कारवाही गरिएका सांसदको सन्दर्भमा थाहा नपाएजस्तो गरेर संसद सचिवालयलाई पत्र पठाएकोमा पनि उनले असन्तुष्टि प्रकट गरे । 

 

३. कोरोना महामारीका नाममा राज्यकोषको दोहन
पूर्ववर्ती सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका नाममा अनियमित रुपमा राज्यकोष दोहन गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको कोभिड–१९ सम्बन्धी विशेष लेखा परीक्षण प्रतिवेदनमा तीनै तहका सरकारले राज्य स्रोतमाथि मनमौजी दोहन गरेको फेहरिस्त उल्लेख गरेको छ । यसैबीच कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रमुख कार्यकारी अधिकृत एवं नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्माले अहिलेसम्म पनि स्वास्थ्य मन्त्रालयसँग आफ्नो राम्रो सम्बन्ध नबनेको गुनासो गरेका छन् । तीनै तहका सरकारसँग समन्वय हुन नसकेको उनको गुनासो छ ।

 

४. काँग्रेस संस्थापन इतर समूहका कार्यकर्ता रिले अनशनमा
नेपाली काँग्रेसका संस्थापन इतर समूहका कार्यकर्ताले विभिन्न माग राख्दै रिले अनशन सुरु गरेका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार हुने प्रावधानमा एकरुपता ल्याउनुपर्ने लगायतका माग राखेर पार्टी कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरूले रिले अनशन थालेका छन् । अनशनकारीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले वरिष्ठ नेता पौडेलले सम्बोधन गर्दै कतिपय पुराना कार्यकर्ताले क्रियाशील सदस्यता पाउन नसकेको बताए ।

 

५. संविधानमाथि प्रश्न उठाउने काम भएकोमा पूर्व प्रधानन्यायाधीशहरूको आपत्ति
पूर्व प्रधानन्यायाधीशहरुले संविधानमाथि प्रश्न उठाउने काम राजनीतिक दलका नेताहरुले गर्दै आएको भन्दै आपत्ति जनाएका छन् । पूर्व प्रधानन्यायाधीशद्वय कल्याणकुमार श्रेष्ठ र सुशीला कार्कीले नेताहरुको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम हुँदै आएको गुनासो गरे । संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको उनीहरुको भनाइ थियो ।

 

६. जसपा नेपाल एक साताभित्र सरकारमा सहभागी हुने 
जसपा नेपालको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एक साताभित्र पार्टीले सरकारमा प्रतिनिधित्व गरिसक्ने दाबी गरेका छन् । बुधबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी नयाँ विचार र एजेण्डासहित वैकल्पिक शक्तिका रुपमा उदय भएको पनि बताए ।

 

७. माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन
नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । 

 

८. गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । यद्यपि खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र कृषिमन्त्री चन्द्रबहादुर बुढाको भने सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । 

 

९. फुटबल संघभित्रको विवादबारे छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन
फुटबल संघभित्रको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषदले गठन गरेको ‘विवाद समाधान छानविन समिति’ ले परिषदलाई प्रतिवेदन बुझाएको छ । परिषदका सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित समितिले परिषदका सदस्यसचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

 

१०. कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका दुई हजार ४८२ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । यद्यपि उक्त संख्यामा नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत जोडिएको मन्त्रालयले जनाएको छ ।

 

११. र यो पनि,
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने जनाएका छन् । उनले महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा आफू नबस्ने जानकारी गराएका हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप