बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता : बाछिटा

बिहीबार, १० भदौ २०७८, १६ : १२
बिहीबार, १० भदौ २०७८

 

 

 


-मणिकुमार श्रेष्ठ

सागरको गहिराइ होइन
उचाइ चुम्न लम्केका यात्रीहरू
कठोर समय आएको छ 
तिम्रो लागि
साना साना प्रेमको 
बाछिटाले 
दलन गर्न सक्छ यहाँ ।

हिमालको चुचुरोमा 
टाकुरा खोज्न निस्केका 
यात्रीहरू
तिम्रा आसमा 
लमतन्न बसेका फाँटहरूले 
तिम्रो प्रतीक्षा गरिरहेको छ 
किनकि
ती फाँटहरूलाई
तिम्रा श्रमको बाछिटाले
उर्वर बजाउनुछ यहाँ ।

सुन्दर गाउँ बस्तीमा 
सहरका सान खोज्न निस्केका 
यात्रीहरू
छाडिदेऊ हामीलाई गाउँमा नै 
किनकि यहाँको 
सान छुट्टै छ
मान छुट्टै छ
इमान छुट्टै छ
अनि जमान छुट्टैै छ
त्यसैले त सहरको 
पिज्जा वर्गरको बाछिटाभन्दा 
मेरै गाउँको गुन्द्रुक ढिँडो 
अनि अचारमा पोषण
बढी छ यहाँ ।

इमानदारिताको खोजीमा 
निस्किएका दरिद्र मनहरू
छाडिदेऊ अब 
सङ्कोच विचारलाई 
त्यागिदेऊ तिम्रा 
पाश्चात्य संस्कारलाई
तोडिदेऊ अब 
ती साँघुरो घेरालाई 
किनकि त्यहाँ
प्रेमको बाछिटा छ
पारिवारिक बाछिटा छ 
नातापरक बाछिटा छ 
उद्देश्यविहीन बाछिटा  छ
त्यसैले 
विश्व हाँक्न निस्किएका 
यात्रीहरू 
साना साना सम्बन्धको बाछिटालाई 
रूपान्तरण गरी
फराकिलो घेरामा लैजाऊ
जहाँ तिम्रो आसमा
हजारौँ हजार
नवजवानहरूले पर्खिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप