सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आयोगविरुद्ध अदालत जाने एमालेको तयारी, संवैधानिक इजलासको पेसी तोक्ने अधिकार कार्कीलाई

अविरल वर्षाले तराई क्षेत्रमा बाढी र डुबान
शुक्रबार, ११ भदौ २०७८, २० : ४७
शुक्रबार, ११ भदौ २०७८

आज २०७८ भदौ ११ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा अविरल वर्षाले तराई क्षेत्रमा बाढी र डुबान, संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमा पेसी तोक्ने अधिकार वरिष्ठतम् न्यायाधीशलाई, निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले कानुनी उपचार खोज्ने, पार्टी कार्यालय उद्घाटन गर्दै महन्थ ठाकुरले भने– सरकारमा जानेबारे छलफल भएको छैन, काँग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक, सभापति पदमा उम्मेदवारी घोषणा गरेका निधिले खोले सम्पर्क कार्यालय, भदौ २४ देखि लागू हुनेगरी प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त, प्रदेश १ को मन्त्रिपरिषद विस्तार लगायत छन् । 

१. अविरल वर्षाले तराई क्षेत्रमा बाढी र डुबान
बिहीबार रातिदेखिको अविरल वर्षाका कारण शुक्रबार तराईका विभिन्न क्षेत्र बाढी तथा डुबानको चपेटामा परेका छन् । कञ्चनपुर, कैलाली, बाँके, नवलपरासी पश्चिमदेखि लिएर सिरहासम्मका विभिन्न स्थानमा शुक्रबार बाढी तथा डुबानले उग्ररुप लिएको हो । 

२. संवैधानिक परिषदसम्बन्धी अध्यादेश विरुद्धको रिटमा पेसी तोक्ने अधिकार वरिष्ठतम् न्यायाधीशलाई
संवैधानिक परिषदसम्बन्धी अध्यादेश विरुद्ध सुनुवाइका लागि संवैधानिक इजलासको पेसी तोक्ने अधिकार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई दिइएको छ । शुक्रबार इजलासमा उक्त मुद्दाको सुनुवाइ प्रक्रियामा प्रधानन्यायाधीश सामेल हुन नमिल्ने रिट जिकिर रिट निवेदकका तर्फबाट गरिएको थियो । यससम्बन्धमा भएको बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उक्त रिटका सम्बन्धमा पेसी तोक्ने अधिकार वरिष्ठतम् न्यायाधीश कार्कीलाई दिएका हुन् भने मुद्दाको फैसला हुने दिन आफू बिदामा बस्ने घोषणासमेत गरेका छन् । 

३. निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले कानुनी उपचार खोज्ने
निर्वाचन आयोगले माधवकुमार नेपालसहित आफूले कारवाही गरेका १४ जनालाई सांसदकै रुपमा मान्यता दिएर दल दर्ता गरेको भन्दै नेकपा एमालेले कानुनी उपचार खोज्ने भएको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आइतबार यससम्बन्धी रिट निवेदन दर्ता गर्नेगरी तयारी भइरहेको छ । एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र पठाउँदा समेत सभामुखले उनीहरुलाई पदमुक्त गर्न आलटाल गरेको भन्दै असन्तुष्टिसमेत जनाउँदै आएको छ ।

४. पार्टी कार्यालय उद्घाटन गर्दै महन्थ ठाकुरले भने– सरकारमा जानेबारे छलफल भएको छैन
शुक्रबार महन्थ ठाकुर नेतृत्वको नवगठित दल लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको कार्यालय उद्घाटन गरिएको छ । राजधानीको बबरमहलस्थित कार्यालय उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारमा जानेबारे छलफल नभएको जानकारी दिए ।

५. काँग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका निधिले खोले सम्पर्क कार्यालय
नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारीको घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । शुक्रबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निधिले आगामी निर्वाचनमा तीनवटै तहमा नेपाली काँग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताए । शुक्रबार नै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका संस्थापन इतर पक्षका नेताहरुले पनि महाधिवेशन केन्द्रित रणनीति तयार पार्ने उद्देश्यले छलफल गरेका छन् । शुक्रबार नै काँग्रेसले क्रियाशील सदस्यता विवाद टुङ्गिएका जिल्लाहरुको क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ । संस्थापन इतर पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै आएका थिए ।

६. प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । 

७. सैनिक ब्यारेकबाट चोरिएको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन
चितवनस्थित सेनाको कालीबहादुर गणबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणको छानबिनका लागि गठित कोर्ट अफ इन्क्वायरी बोर्ड (छानबिन समिति)ले जङ्गी अड्डामा आफ्नो प्रतिवेदन बुझाएको छ । महा–सेनानीको नेतृत्वमा गठित समितिले आवश्यक छानबिन सकेर प्रतिवेदन बुझाएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले बताए ।

८. प्रदेश १ को मन्त्रिपरिषद विस्तार
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री नियुक्त गरेका छन् ।

९. कास्कीमा वर्ष दिनमा १५७ जनाले गरे आत्महत्या
कास्कीमा आत्महत्याको दर बढ्न थालेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कास्की जिल्लामा १५७ जनाले आत्महत्या गरेका छन् ।

१०. कोरोना भाइरसबाट थप दुई हजार ६५ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप दुई हजार ६५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–एएमएस)लाई त्रुटिरहित बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको युएन शाखाले यसअघि लिएको परीक्षाको प्रश्नपत्र लिक भएको थियो ।

बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) आज राति १२ बजेदेखि अन्त्य भएको छ ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

८ महिनाको बालक काखमा बोकेकी एक महिलाको साथबाट प्रहरीले एक किलो ७०० ग्राम चरेस बरामद गरेको छ । ती महिलाले उक्त चरेस आफ्नै पतिले पठाएको बयान दिएपछि प्रहरीले ती महिलासहित उनको पतिलाई पनि पक्राउ गरेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप