सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चेपाङ गाउँको विद्यालयमा पुस्तकालय स्थापना

आइतबार, १३ भदौ २०७८, १६ : ५०
आइतबार, १३ भदौ २०७८

के फाउण्डेसन ग्लोबलले चितवनको इच्छाकामना गाउँपालिका–६ तुन्तेषस्थित चेपाङ बस्तीमा रहेको  श्री राष्ट्रिय आधारभूतमा पुस्तकालय स्थापना गरेको छ । गाउँमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्दै के फाउण्डेसन ग्लोबलका अध्यक्ष सौरभ रिमालले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना गर्दा शिक्षा क्षेत्रको गुणस्तर बृद्धि हुने बताए ।  आर्थिक र सामाजिक रुपमा पिछडिएको चेपाङ समुदायलाई शिक्षा र स्वास्थ क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । ‘हामीले विद्यालयमा पुस्तकालय मात्रै नभएर विद्यार्थीलाई पोशाक र खेल सामग्री पनि वितरण गरेका छौं । यसले विद्यार्थीलाई पढाइप्रति प्रोत्साहित गराउँछ । के  फाउण्डेशनको सहयोग गर्ने अवसर पाएको छ । हामी यहाँका बालबच्चाको सुन्दर भविष्यको कामना पनि गर्दछौं’ उनले भने । 

त्यस्तै स्वास्थ्य सेवाको उचित लाभ लिन नसकिरहेको गाउँमा आफूहरुले नेतृत्वमा आधा दर्जन चिकित्सकले निःशुल्क औषधिसहितको स्वास्थ्यसेवा प्रदान गरको अध्यक्ष रिमालले बताए ।  ‘चरम गरिबीका कारण रोग भएकोले धेरैलाई उपचार गर्ने आर्थिक अभाव छ । यति मात्रै होइन राम्रो कपडा लगाउने र पेटभरी खाने अवस्था पनि छैन् । त्यसैले पनि हामीले गाउँका सबै नागरिकलाई लत्ताकपडा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर चेपाङ गाउँ आएका हौं’ रिमालले भने । 

‘गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौं’ उनले भने । फाउण्डेसनमा आवद्ध भएर समुदायमा स्वास्थ्य सेवा प्रदान गर्नु पाउँदा निकै खुशी लागेको डा. त्रिशला गुरुङले बताइन् । 

‘यहाँका नागरिकका स्वास्थ्य अवस्था निकै कहालीलाग्दो छ । औषधि उपचार नपाएर मानिसहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेछ । अधिकांशले ज्यानमा रोग पालेर बस्नुभएको छ ।  नेपालमा दुर्गम ठाउँको अवस्था अझै उस्तै छ । हामीले थोरै भएपनि यहाँका नागरिकको​ स्वास्थ्य जाँच गरेर औषधि प्रदान गरेका छौं’ उनले भनिन् । डा. गुरुङका अनुसार गाउँमा आधा दर्जन चिकित्सकहरुको टिमले आँखा, दाँत, छाला, जनरल, प्रसुती र क्यान्सरको स्वास्थ्य जाँच र औषधि वितरण गरेको थियो । 

 श्री राष्ट्रिय आधारभूत विद्यालय, तुन्तेषका प्रधानाध्यापक ज्योति गुरुङ र वडाध्यक्ष भुपेन्द्र चेपाङले आफ्नो विद्यालयमा पुस्तकालय स्थापना गर्ने र विद्यार्थीलाई पोशाक तथा खेल सामग्री सहयोग गर्नेहरूप्रति धन्यवाद व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप