सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ओली प्रवृत्तिबारे झलनाथको कडा टिप्पणी, मन्त्रिपरिषद विस्तारबारे सत्तारुढ दलबीच सैद्धान्तिक सहमति

पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्तालाई ओलीको निर्देशन
सोमबार, १४ भदौ २०७८, २० : ५४
सोमबार, १४ भदौ २०७८

आज २०७८ भदौ १४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा मन्त्रिपरिषद विस्तारबारे सत्तारुढ गठबन्धनबीच छलफल, ओली दक्षिणपन्थी अवसरवादको प्रतीक रहेको झलनाथको टिप्पणी, फोहोर उठाउने प्रवन्ध गर्न काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन, नेकपा एकीकृत समाजवादीले सरकारमा मन्त्री पठाउन मापदण्ड बनाउने, वाइसीएलको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई, पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्तालाई ओलीको निर्देशन, ऋणका लागि बैंकमा राखेको सुन ऋण चुक्तापछि बैंकले नै नक्कली भनेपछि...लगायत छन् ।
 १. मन्त्रिपरिषद विस्तार बुधबार गर्ने सत्तारुढ दलहरुबीच सहमति, बजेट सच्याइने
सत्तारुढ दलहरुबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ । सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद विस्तारमा ढिला गर्न नहुने निष्कर्ष निकालिएको हो । सम्भवतः बुधबार मन्त्रिपरिषद विस्तार हुने बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार बजेट सच्याउनेबारे पनि नेताहरुबीच सैद्धान्तिक सहमति भएको छ । 

२. ओली दक्षिणपन्थी अवसरवादको प्रतीक रहेको झलनाथको टिप्पणी
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोमबार स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । भारतमा दुई महिनाभन्दा लामो समयको उपचारपछि स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिए । ओलीकै कारण कम्युनिस्ट आन्दोलन विसर्जन हुन थालेको भन्दै उनले आफूहरुले कम्युनिस्ट आन्दोलनलाई बचाउन नयाँ दल गठन गर्नुपरेको प्रस्ट पारे । 

३. फोहोर उठाउने प्रवन्ध गर्न काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर उठाउने प्रवन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई निर्देशन दिएका छन् । सोमबार आफ्नै निवासमा काठमाडौंका मेयर र उपमेयरलाई बोलाएर प्रधानमन्त्री देउवाले फोहोर कसरी उठाउन सकिन्छ भन्नेबारे उचित प्रवन्ध गर्न निर्देशन दिएका हुन् । केही सातादेखि काठमाडौंमा फोहोर उठाउन छाडिएको छ, जसले गर्दा सहर नै दुर्गन्धित हुन पुगेको छ ।

४. नेकपा एकीकृत समाजवादीले सरकारमा मन्त्री पठाउन मापदण्ड बनाउने
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा आफ्नो पार्टीका तर्फबाट मन्त्री पठाउन मापदण्ड तयार पार्ने भएको छ । सोही मापदण्डका आधारमा सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गराउने भएको सो पार्टी सम्बद्ध नेताको भनाइ छ । मन्त्री हुनका लागि आकांक्षी बढेसँगै पार्टीले मापदण्ड बनाएर सरकारमा पठाउन थालेको हो ।

५. वाइसीएलको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई
नेकपा माओवादी केन्द्रको सोमबार आकस्मिक रुपमा बसेको स्थायी कमिटीको बैठकले पार्टीको भ्रातृ संगठन वाइसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । शनिबारदेखि जारी वाइसिएलको भेलाले नेतृत्वको बारेमा सहमति जुटाउन नसकेपछि पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । 

६. विभाजनको पक्षमा नलाग्न कार्यकर्तालाई ओलीको निर्देशन
नेकपा एमालेले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थिति सामना गर्नु परेको जनाएका छन् । उनले त्यसको सामनाका लागि कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

७. ऋणका लागि बैंकमा राखेको सुन ऋण चुक्तापछि बैंकले नै नक्कली भनेपछि..
महालक्ष्मी विकास बैंक, कुमारी पाटी शाखामा धितो बापत राखेको सुनलाई ऋण चुक्तापछि बैंकले नै नक्कली भन्दै ग्राहकलाई फिर्ता दिन अस्वीकार गरेको छ । ललितपुर महानगरपालिका–११ चाकुपाट निवासी विष्णु महर्जनले २०७२ सालमा २५ तोला सुन धितो राखेर बैंकबाट रकम लिएकी थिइन् । तर ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले नक्कली सुन भन्दै फिर्ता दिन अस्वीकार गरेको उनको भनाइ छ ।

८. प्रदेश १ र बागमती प्रदेश सरकार अल्पमतमा, सरकार फेर्ने कसरत
नेकपा एमाले विभाजनपछि प्रदेश १ र बागमती प्रदेश सरकार अल्पमतमा परेका छन् । दुवै प्रदेशमा सरकार फेर्ने कसरत हुन थालेको छ । ती दुवै प्रदेशमा हाल नेकपा एमालेको एकल बहुमतको सरकार छ । तर पार्टी विभाजित भएका कारण दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा पर्ने देखिएको छ ।

९. कृष्ण जन्माष्टमी र गौरा पर्व मनाइयो
हिन्दु धर्मावलम्बीहरुले सोमबार कृष्ण जन्माष्टमी र गौरा पर्व मनाएका छन् । कृष्ण जन्माष्टमीका अवसरमा देशका विभिन्न भागमा रहेका कृष्ण मन्दिरमा दर्शनार्थीहरू पूजा आराधनाका लागि पुगेका छन् । यस्तै, गौरा पर्व भने खासगरी सुदूरपश्चिम प्रदेशमा मनाउने गरिन्छ । 

१०. कोरोना भाइरसबाट थप २ हजार २९५ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप दुई हजार २९५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
नेपाली काँग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  

आइतबार राति नेपाल आयल निगम, विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर रहस्यमय ढंगले चोरी भएको छ । सहचालक शिव खनाल शौचालय गएको मौका छोपेर चोरले राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।

अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । एक हजार तीन सय लिटर एसिडसहित बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव सिंह र बाग्लुङका बल बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

अविरल वर्षासँगै बुटवलमा सोमबार पहिरोले ७ वटा घर पुरिएका छन् भने अन्य १५ वटा घरमा सामान्य क्षति भएको छ । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर बमघाटका ७ घर पुरिएको प्रहरीले जनाएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप